धरानः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारी छनोट गरेका छन्। सोमबार बिहान साढे ३ बजे ओलीले पदाधिकारीको नाम एमाले महाधिवेशनको बन्दसत्रमा बाचन गरेका हुन् ।
अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र सुवास नेम्बाङ छन् । त्यसैगरी महासचिवमा शंकर पोखरेल छानिएका छन्। उपमहासचिवहरुमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् ।
सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छनोट भएका छन् । ओलीले छनोट गरेका पदाधिकारीलाई हलले पारित गरेको छ। यसअघि ओलीले तीन सय एक जनाको नाम केन्द्रीय कमिटीका लागि सार्वजनिक गरेका थिए ।
एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिव जित्ने क्रमशः भीम रावल र घनश्याम भुसाललाई भने ओलीले पदाधिकारीमा समेटेका छैनन् ।
एमालेमा रावल अध्यक्षको दाबेदार छन् भने भुसाल उपाध्यक्षका दाबेदार हुन् ।
यसैबीच नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन् । एमालेको जारी १० औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् ।
कोरोना संक्रमणको उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनी ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा परेका छैनन् । उनी प्रदेश १ का पूर्व मुख्यमन्त्री पनि हुन् । यस्तै, नेकपा एमाले नेता घनश्याम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
यस्तै ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षमा दर्ता गराइसकेका छन् ।