धरानः नेपाली कांग्रेसको निर्वाचन कार्यक्रम आजबाट सुरु हुने भएको छ । शुक्रबारदेखि सुरु महाधिवेशनको दोस्रो दिन उम्मेदवार मनोनयन दर्ता हुने भएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार, उम्मेदवार मनोनयन दर्ता समय अहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मलाई तोकिएको छ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर साँझ ७ देखि ९ बजेसम्म निर्णय गर्ने कार्यतालिका छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।
निर्वाचन कार्यक्रम आजैबाट सुरु हुने भए पनि संस्थापनइतरले अझै सभापतिको साझा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । संस्थापनमा शेरबहादुर देउवा सभापतिमा खडा भए पनि बाँकी पदहरूमा आकांक्षी धेरै हुँदा सकस परेको छ ।
यो महाधिवेशनका लागि देश तथा प्रवासबाट चार हजार ७४३ महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।द पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । यिनै महाधिवेशन प्रतिनिधिले पदाधिकारी, केन्द्रीय समिति सदस्यलगायत छनौट गर्नेछ ।