धरानः कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । हाल पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।
मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो । तर निर्वाचन समितिले देउवा बिजयी भएको सूचनासमेत जारी गरिसकेको छ ।
शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।
१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।
पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए ।
को हुन् देउवा ?
हाल पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । देउवा २०५२ सालमा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए । पटक–पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । कांग्रेसका संस्थापक नेता बीपी कोइरालकै पे्ररणाबाट राजनीतिमा होमिएका थिए उनी ।
वि.सं. २०१७ को राजनीतिक घटनाक्रम पछि नेपालको प्रजातान्त्रिक अन्दोलनमा निरन्तर रुपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य हुन् । वि.सं. २००४ सालमा जेठ ३० मा डडेलधुराको असिग्राममा जन्मिएका देउवा सामान्य परिवारबाट केन्द्रीय नेतृत्वमा पुगेका हुन् । ०३६ को जनमत संग्रहमा बीपी कोइरालासँगै पञ्चायतविरुद्धको आन्दोलनमाा पूर्व–पश्चिम दौडाहामा भाग लिएका थिए । उनी ०२० मा सक्रिय राजनीतिमा लागेका हुन् । कांग्रेसका संस्थापक नेता बीपीकै छत्रछायाँमा आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका थिए ।
०४६ पछिको खुल्ला राजनीतिपछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासंगै खुला राजनीतिमा होमिएका देउवाले ६० को दशकको शुरुवात देखि गिरिजाप्रसादलाई चुनौती दिएका थिए । तर, लड्ने हिम्मत भने गरेनन् ।
माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समय ०५८ को उत्तराद्र्धमा संकटकाल लगाउने विषयमा पार्टीभित्र विवाद चर्किएपछि ०५९ मा पार्टी विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । त्यतिबेला विमलेन्द्र निधि र प्रकाशमान सिंहको देउवालाई बलियो साथ लिएका थिए । अहिले पनि उनै निधि र प्रकाशमानको सहयोगकै कारण उनले दोस्रोपटक पार्टीको बागडोर सम्हाल्ने मौका पाएका हुन् ।
कांग्रेसको १० औं महाधिवेशनमा गिरिजाप्रसाद र १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका उनी १३ औ महाधिवेशनमा सभापतिमा निर्वाचित भएका थिए । उनले राजनीति शास्त्रमा स्नातकोत्तर र कानून संकायमा स्नातक गरेका छन् ।
०४८ यता डडेलधुराबाट संसदीय चुनावमा अपराजित यात्रा सुरु गरेका देउवाले ०४८ सालमा भट्टराई नेतृत्वको सरकारमा गृहमन्त्री बन्न सफल भएका थिए । देउवा ०५२, ०५८ र ०६१, ०७४ र ०७८ गरी पाँच पटक प्रधानमन्त्री हुनेमा उनी गिरिजाप्रसादपछिका दोस्रो व्यक्ति हुन् ।
यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।
१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् । पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।
जसले हारेपनि मत बढाए अनि नेता बने
नेपाली कांग्रेसको पहिचान नै कोइराला परिवार हो । कोइराला परिवार कांग्रेसको विरासत बोकेको पार्टी हो । विश्वेश्वरप्रसादले स्थापना गरेको पार्टीमा लामो समयसम्म उनकै सन्तानले राज गरे । सरकारको नेतृत्वमा होस् कि ठूला पदमा उनीहरूकै हालीमुहाली भयो ।
तर, गिरिजाप्रसाद कोइरालाको अवसानपछि उक्त पार्टी हाँक्ने जिम्मेवारी सुशील कोइरालाको काँधमा आयो । भलै उनी विश्वेश्वरका परिवारभित्रका मान्छे थिएनन् । तर, थर र नाता सम्बन्धले उनी पनि सोही परिवारभित्रकै जस्ता थिए ।
तर, सुशील कोइरालापछि कांग्रेसमा कोइराला परिवारको शाख घट्दै गयो । कसैले कल्पनासम्म पनि गरेका थिएनन्, कुनैबेला कांग्रेसको बागडोर कोइराला परिवारभन्दा बाहिर जानेछ । सोही कारण नै गिरिजाप्रसादले सुशील कोइरालालाई तयार गरेका थिए ।
तर, एकाएक सुशीलको अवसानपछि कांग्रेसको बागडोर पहिलोपटक कोइराला परिवारभन्दा बाहिर गयो । त्यो पनि सुदूरपश्चिमबाट उदाएका शेरबहादुर देउवाले कांग्रेसको बागडोर सम्हाल्ने मौका पाए । संयोग कस्तो बनिदियो भने सुशील कोइराला बितेको एक महिनालगत्तै २०७२ फागुनको तेस्रो हप्ता देउवाले पहिलोपटक मूल कांग्रेसको नेतृत्व हत्याइदिए । कोइराला परिवारमा विरासत थाम्ने नेता नभएका कारण नै शेरबहादुरले नेतृत्व गर्ने मौका पाए । तर, अहिले पनि दोस्रोपटक सभापतिको जिम्मेवारी उनैको काँधमा आइपुगेको छ ।
अघिल्लोपटक नेता रामचन्द्र पौडेललाई पराजित गरेका देउवाले यसपटक भने कोइराला परिवारकै शेखरलाई परास्त गरे । कांग्रेसमा कोइराला परिवारपछि पार्टी नेतृत्वमा दोहोरिएर सभापति बन्ने मौकासमेत उनलाई मिल्यो ।
पहिलोपटक कोइराला परिवारका सुशील कोइरालासँग उनको संसदीय दलमा प्रतिस्पर्धा भएको थियो । त्यसअघि उनले बरु पार्टी नै फुटाए तर, गिरिजाप्रसाद कोइरालासँग लड्ने हिम्मत गरेनन् ।
तर, उनले बुझेका थिए की सुशील कोइरालाको अवसानपछि आफूसँग प्रतिस्पर्धा गर्न लायक कोही नेता कोइराला परिवारभित्र छैन । यता केही आशा गरिएकी गिरिजा सुपुत्री सुजाता पद र मन्त्रालयकै ललिपपमा मस्त थिइन् ।
विरासत थाम्ने आशालाग्दा नेताहरू शशांक र शेखर कोइरालाहरू परिवारभित्र मिल्न सकिरहेका थिएनन् । पहिलोपटक सभापति हुँदा पनि देउवालाई यसैको फाइदा मिलेको थियो । देउवा सभापति र शशांक १३ औं महाधिवेशनबाट सभापति र महामन्त्रीमा जितेका थिए । तर, रामचन्द्र पौडेल सभापति पराजित हुन पुगेका थिए ।
अहिले पनि उनले सोही परिवारबीचको विभाजनलाई नै भरपुर प्रयोग गरे र दोस्रापटक सभापति बने । सभापतिमा मात्रै दोहोरिएका होइनन्, कोइराला परिवारमाथिको पनि उनको दोस्रो जित हो । कोइराला परिवारको जितमा भने कोइरालाहरू नै सहयोगी बनिदिए । शेखर सभापतिमा उठ्दा बिपीपुत्र शशांकले समेत खुलेर भोट मागिदिएनन् । बरु देउवालाई सहयोग हुने गरी भूमिका खेलिदिए । मन्त्री बन्न नपाएको झोकमा सुजाता कोइराला प्रकाशमानको समूह हुँदै दोस्रो चरणमा खुलेरै देउवालाई जिताउन लागिन् ।
कोइराला परिवारबाटै समेत असहयोग हुँदा उनी युवाहरूको टिम बनाएर मैदानमा होमिएका थिए । इतर समूहबाट शेखरसँगै प्रकाशमान पनि सभापतिको उम्मेदवार थिए । तर, दोस्रो चरणमा उनले देउवालाई समर्थन गर्ने सहमति गरेपछि कोइरालाइतर समूहको प्रमुख नेताका रूपमा उदाएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलइतर समूहमै सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि प्रतिस्पर्धामा उत्रेनन्, यसले पनि शेखरलाई समूहको नेता बन्ने अवसर दियो ।