धरानः नेपाली चलचित्र क्षेत्रका एक समयका चर्चित तथा वरिष्ठ निर्देशक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्यूयोर्कमा एक कार्यक्रमका बीच न्युयोर्क नेवाः गुठीले सम्मान गरेको छ ।
छोटो समयका लागि अमेरिका पुगेका वरिष्ठ निर्देशक श्रेष्ठलाई न्यूयोर्क नेवाः गुठीका संस्थापक बीके नेवाः, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले नेपाली चलचित क्षेत्रमा गरेको योगदानको कदर गर्दै खादा लगाइदिएर सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रम प्रस्तोता, टेलिभिजन प्रस्तोता हुँदै ‘गाउँले’ नामक सुपरहिट चलचित्रबाट निर्देशकको रुपमा यस क्षेत्रमा प्रवेश गरेका निर्देशक श्रेष्ठले ३० भन्दा बढी नेपाली चलचित्रको निर्देशन गरिसकेका छन् ।
लामो समयको अन्तरालपछि उनले ‘घिन्ताङ’ नामक अन्तर जातीय फिल्म सकाएर अमेरिकाको भ्रमणमा आएको जानकारी दिएका थिए । कार्यक्रममा नेवाः गुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने निर्णय गरेको छ । सो फिल्म बनाउने जिम्मेवारी वरिष्ठ निर्देशक श्रेष्ठलाई नै दिने निर्णय गरिएको थियो । निर्देशक श्रेष्ठले सो जिम्मेवारी सहर्ष स्वीकार गर्दै सक्दो सहयोग गर्ने वचन दिए ।
कार्यक्रममा श्रेष्ठले आफूलाई गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै अमेरिका जस्तो देशमा बसेरपनि नेवार समुदाय आफ्नो भाषा, कला संस्कृतिको सरक्षणमा जुटेकोमा गर्व लागेको बताए ।