Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घाम कमजोर, चिसो बढ्यो

हाम्रो कोशी आवाज
पुष १० २०७८, शनिबार
घाम कमजोर, चिसो बढ्यो

धरानः ​पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ। दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन्।
गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्री र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो। आज काठमाडौँको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्री सेल्सियस रहेको छ।
अबका दिनमा मौसम फेरबदल भइरहने छ। अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले बताइन्।
‘अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ,’ उनले भने, ‘अधिकतम तापक्रम एक/दुई डिग्रि सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन।’
अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ।
मौसमविद कँडेलका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। उच्च पहाडी भेगमा हल्का हिमपात र एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ।
महाशाखाको विवरणमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै‚ सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा/सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति: पुष १० २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend