Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः ओमिक्रोनका लक्षण यसअघिका भेरियन्टभन्दा फरक

हाम्रो कोशी आवाज
पुष १९ २०७८, सोमबार
नयाँ अध्ययनः ओमिक्रोनका लक्षण यसअघिका भेरियन्टभन्दा फरक

धरानः हाल विश्वव्यापी बनिरहेको कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका लक्षण यसअघिका भेरियन्टभन्दा केही फरक देखिएका छन् ।
यस अघिका कोभिड भेरियन्टभन्दा ओमिक्रोन संक्रामक रहेको तर संक्रमित मानिस गम्भीर बिरामी हुने सम्भावना कम रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यसैबीच, ओमिक्रोन र रुघाखोकीका लक्षण मिल्ने एक अध्ययनले देखाउँछ ।
ओमिक्रोनबाट संक्रमित भएपछि ज्वरो आउने, निरन्तर टाउको दुख्ने, स्वाद वा गन्ध थाहा नहुने जस्ता कोभिड-१९ आम लक्षण देखिन्छन् । तर बेलायतमा गरिएको एक अध्ययन अनुसार ओमिक्रोनका संक्रमितमा यसअघिको भेरियन्टको संक्रमणमा नदेखिएका केही नयाँ लक्षण समेत रहेका छन् र कतिपय लक्षण रुघाखोकीसँग मिल्छन् ।
बेलायतको कोभिड ट्र्याकिङ एप जेडओईमा उल्लेख गरिएका ओमिक्रोनका लक्षण रुघाखोकीसँग मिल्छन् । अर्थात् ओमिक्रोनबाट संक्रमित भएपछि रुघाखोकी लागेको बेलामा झैं नाकबाट पानी बग्ने, टाउको दुख्ने, थकान महसुस हुने, हाछ्युँ र घाँटी दुख्ने जस्ता लक्षण देखिन्छन् ।
‘ओमिक्रोन पोजिटिभ देखिएका अधिकांश मानिसले सामान्य रुघाखोकीका लक्षण महसुस गर्छन् अर्थात् संक्रमणपछि घाँटी दुख्न, नाकबाट पानी बग्न र टाउको दुख्न थाल्छ’, किङ्स कलेज लण्डनमा जेनेटिक ईपिडिमियोलोजीका प्राध्यापक एवं जेडओई एपका संस्थापक टिम स्पेक्टरले बताए ।
रुघाखोकीका लक्षण देखिने ५० प्रतिशत मानिसमा कोभिड संक्रमण देखिन थालेको हुँदा सार्वजनिक सन्देश प्रवाहको तरिका फेर्नुपर्ने पनि स्पेक्टरको भनाइ छ । ‘रुघाखोकी जस्ता लक्षण भएका आधा मानिसमा कोभिड देखिएको हुँदा तत्काल सार्वजनिक सन्देश प्रवाहको तरिका बदलेर मानिसको ज्यान बचाउँन आवश्यक छ’, उनले भने ।
त्यस्तै, कतिपय ओमिक्रोनका संक्रमितलाई वाकवाकी लाग्ने पनि स्पेक्टरको भनाइ छ । उनका अनुसार पूर्ण एवं बुस्टर खोप लगाएका मानिसमा समेत यो लक्षण देखिन सक्छ ।

प्रकाशित मिति: पुष १९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend