धरानः नेपालमा कोरोनाभाइरसको सङ्क्रमण तीब्ररूपमा फैलिरहेको भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले अचानक निर्णय गर्दै सरकारलाई सिफारिस गरयो– कक्षा १० सम्मका सबै विद्यालय आगामी माघ १५ गतेसम्म बन्द ।
उसले २५ जना बढी मानिस एकै ठाउँ जम्मा नहुन र सार्वजनिकस्थलहरूमा खोप कार्ड देखाएर मात्र प्रवेश दिन भनेको छ । त्यसैले पनि अहिले सर्वसाधारणमा चासो थपिएको छ, लकडाउन होला कि नहोला ?
सरकारले लकडाउन गर्न निर्णय लिने अधिकार सिसिएमसी र जिल्लास्तरीय डिसिसिएमसीलाई दिएको छ । यी दुवै निकायले निर्णय लिँदा स्वास्थ्य मन्त्रालयको धारणालाई बढी आधार मानेर लकडाउन गर्ने, नगर्ने निर्णय लिने हो ।
उता स्वास्थ्य मन्त्रालय भने तत्काल कुनै प्रकारको लकडाउन गर्नुपर्छ भन्ने पक्षमा नरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले तत्काल लकडाउनमा गइहाल्नु नपर्ने बताएका छन् । तत्काल सबै क्षेत्र बन्द गर्ने र बन्दाबन्दी गरेर मान्छेलाई घरमै थुन्नेबारे सरकारले अहिले केही नसोचेको उनले स्पष्ट पारे । यद्यपि संक्रमणलाई थप फैलिन नदिए अहिले भएका स्रोतले थेग्नसक्ने उनको भनाइ छ ।
संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि तत्काल लकडाउन गर्नुनपर्ने बताउँछन् । उनले अहिले फैलिरहेको संक्रमण छिटो फैलिएपनि त्यसले घातक बनाउने सम्भावना निकै कम रहेको भन्दै पहिले त्यो अवस्थाको निक्यौल गर्नुपर्ने जनाए ।
अर्को कुरा अहिलेको अवस्था पहिलो र दोस्रो लहरको अवस्था नरहेको भन्दै अहिले धेरै मानिसहरूले खोप लगाएको भन्दै त्यसले पनि संक्रमण भइहाले पनि जटिलता हुनबाट धेरै जोगाउने पुनको बुझाइ छ । उनले भारत पनि राम्रो उदाहरण हुनसक्ने भन्दै अहिले भारतमा दैनिक लाखभन्दा बढी संक्रमितहरू भटिए पनि डेल्टा भेरियन्टले जस्तो अक्सिजन र अस्पताल नपाएर मृत्यु भएको भन्ने खबर नआएको बताए ।