धरानः नेपाल पञ्चाङग निर्णायक समितिले आगामी वर्ष २०७९को पात्रो तयार पारेको छ ।
समितिले तयार पारेको पात्रोअनुसार दशैंको टीका असोज १९ मा परेको छ भने तिहारको भाइटिका कात्तिक १० गते परेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार भदौ २६ गते सोह्रश्राद्ध शुरु भई असोज ९ गते सकिनेछ ।
असोज १० गते घटस्थापना परेको छ भने १६ गते फूलपाति परेको छ । १७ गते महाअष्टमी, १८ गते महानवमी परेको छ टीका असोज १९ गते परेको छ ।
यस्तै, तिहारअन्तर्गत कात्तिक ६ गते काग तिहार छ भने कात्तिक ७ गते कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । कात्तिक ८ गते गाईतिहारको दिन सूर्यग्रहण परेको छ । त्यसदिन ग्रहणले ढाकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमितिसहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृतिसमेत दिइसकेको छ ।
कात्तिक ९ गते गोबद्र्धनपूजा र म्हपूजा परेको छ । वैशाखे पूर्णिमा, बुद्धजयन्ती तथा उभौली पर्व जेठ २ गते परेको छ । असार २६ मा हरिशयनी एकादशी परेको छ भने असार २९ मा गुरु पूर्णिमा परेको छ । नागपञ्चमी साउन १७ मा परेको छ भने साउन २७ मा जनै पूर्णिमा परेको छ । तिथिका कारण गाइजात्रा पनि त्यही दिन परेको छ ।
भदौ ३ गते कृष्ण जन्माष्टमी परेको छ भने भदौ ११ मा बाबुको मुख हेर्ने दिन अर्थात् कुशे औंसी परेको छ । तीज भदौ १४ मा परेको छ भने इन्द्रजात्रा भदौ २४मा परेको छ । गौरापर्व भदौ १८ मा परेको छ । छठ पर्व कात्तिकमा परेको छ भने कात्तिक १८ मा हरिबोधनी अर्थात् ठूली एकादशी परेको छ ।
मंसिर १२ मा विवाह पञ्चमी परेको छ । विवाह पञ्चमीमा विवाह गर्न चाहनेले साइत हेराउनुनपर्ने मान्यता रहिआएको छ । समितिका अनुसार २०७९ मा ५० भन्दा बढी विहेका लगन रहेका छन् । ढुंगेलका अनुसार वैशाख र जेठमा विहेका लगन बढी छन् ।
