Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सफारी चलाउने महिलाको कथा-व्यथा

हाम्रो कोशी आवाज
माघ १० २०७८, सोमबार
धरानमा सफारी चलाउने महिलाको कथा-व्यथा

धरानः लाहुरेको शहर, फेसनेवेल युवायुवतीको शहर भनेर पनि चिनिने धरानमा पछिल्ला केही वर्षदेखि यहाँका महिलाहरुमा फेसनमा मात्रै सीमित नभएर आर्थिक रुपमा आत्मर्निभर हुन थालेका छन् ।
पुरुषले मात्रै धानेको सार्वजनिक सिटी सफारीको चालकका रुपमा महिला पनि अघि बढेका छन् । पछिल्लो केही वर्षयता यहाँका महिलाको सोंच आत्मनिर्भरतर्फ उन्मुख भएको पाइन्छ । यसअघि राजधानीमा मात्र देखिने यस्ता दृश्य धरानमा पनि देखिन थालेको छ । दिनभर सिटी सफारी कुदाएर आर्थिक उपार्जन गरी परिवार समेत पाल्दै आएका महिला धरानमा छन् ।
सार्वजनिक सवारी चालक हुनुमा पुरुषभन्दा महिलालाई जोखिम र चुनौतीपूर्ण नै भएपनि महिलाले यो पेशा अङ्गालिरहेका छन् । पुरुषसरह महिलाले पनि काम गर्न सक्छन् भन्ने उदाहरण बनेका छन्, धरानका महिला सिटी सफारी चालक । यी मध्येका एक उदाहरणीय महिला हुन्, धरान–१३ की इन्दुदेवी श्रेष्ठ । उनी विगत ६ वर्षदेखि यो पेशामा आवद्ध छिन् ।
सफारी चलाएर नै परिवार धान्दै आएकी उनी भन्छिन्, ‘महिलाहरु स्वदेशमै आत्मनिर्भर हुन निकै जरुरी छ । विदेशमा गएरमात्र आर्थिकरुपमा सबल भइन्छ भन्ने मानसिकता त्यागौं, विदेशमा महिलाहरुमा हिंसा, शोषण भएका जस्ता कुराहरु सुनिन्छ, देखिन्छ, त्यो सत्य पनि हो ।’
जुनसुकै काम भएपनि सानो, ठूलो नहुने हुनाले महिलाले काम गर्न भने हिचकिचाउन नहुने धारणा उनको छ । ‘जुनसुकै काम पनि सानो, ठूलो भन्ने हुँदैन । म सफारी चालक हुँ । मेरो लागि यो पेशा गौरवको पेशा हो किनभने मैले साहसका साथ पुरुषसरह यो पेशाले मैले मेरो परिवार धानेको छु ।’
श्रेष्ठ आफ्ना दुईजना छोराछोरीलाई अरुको जस्तै राम्रो बोर्डिङ स्कुलमा पढाउन सकेको र कसैको आशमा बस्नु नपरेको बरु श्रीमानसँगै काँधमा काँध हाली हिँड्न सकेको बताउँछिन् । यो क्षेत्रमा त्यति सजिलो भने नभएको उनको भनाइ छ । ‘यहाँ हरेक किसिमको मानिससँग भेट हुन्छ, कहिले कतिपयसँग निडर भई सामना गर्नु पर्छ ।’ उनले थपिन् ।

इन्दुदेवीजस्तै सोंच भएकी अर्की महिला सिटी सफारी चालक हुन् हिमाली राई । विगत ५ वर्षदेखि उनी यस पेशामा आवद्ध छिन् । यही पेशाबाट सहजै परिवार धानिरहेको उनले सुनाइन् । ‘कहिलेकाहीँ यो पेशा छोडिदिऔं कि जस्तो नलागेको भने होइन तर विस्तारै सिटी सफारी चलाउन सहज र बानी पर्दै गयो । आम्दानी पनि सन्तोषजनक भएपछि अहिले यसैमा रमाइरहेको छु ।’ उनले भनिन् । दैनिक २ हजार रुपैयाँसम्म कमाउने उनले सुनाइन् । राईलाई भने परिवारको आर्थिक भार थाम्नुपर्ने बाध्यता नै पनि छ । उनको श्रीमान् बिरामी छन् र दुईजना छोराछोरी हुर्काउन साथै पढाउन उनकै जिम्मेवारी छ ।
यस्तै, कविता राई पनि अहिले अपाङ्ग श्रीमान पाल्न सिटी सफारी चालक छिन् । ‘अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी खुसी छिन् । एउटा छोरी छन् उनको पढाइ खर्च र श्रीमान पाल्न पुगेकै छ अलि अलि बचत पनि गर्ने गरेको छु’, उनले भनिन् । पुरूषले मात्र सवारीसाधन चलाउन सक्छन् भन्ने सोंच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो झापड उनले पनि ठानेकी छिन् । ‘पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो उनले थपिन् र आँट कसेर निस्किएपछि सम्भव हुने रहेछ भन्ने थाहा पाइसकेको छु ।’
सार्वजनिक सवारी साधनमा महिला चालकलाई वास्तवमा जोखिमपूर्ण भने छ, विशेषगरि साँझको बेला । ‘गाडी लाइन त्यसमाथि छोरी मान्छे अरुले यसलाई असहज पनि मान्छन् तर मलाई के लाग्छ भने सर्वप्रथम आफू राम्रो हुनुपर्छ, सबल हुनुपर्छ । ’ उनी भन्छिन् ।
जुनै क्षेत्रमा पनि जोखिम हुने भएपनि यस क्षेत्रमा रातिको समय भने अलि बढी जोखिमपूर्ण हुने गरेको उनी बताउँछन् । ‘महिलालाई रातिको समय यस पेशामा धेरै जोखिम छ । म रातिको समय कुदाउँदिनँ जति कुदाउनु छ, दिउँसै कुदाउँछु ।’
साना सार्वजनिक सवारी साधनको चालक पेशामा पछिल्लो समय महिलाहरुको सहभागिता बढ्न थालेको छ । त्यसैले स्थानीय सरकारको यस विषयमा ध्यानार्कषण हुनु जरुरी देखिन्छ र यस्ता परिश्रमी महिलाहरुका लागि राज्य र स्थानीय सरकारले साथ, सहयोग गरी उत्साहित गर्न जरुरी छ, जसले गर्दा महिलाहरुलाई अझ अघि बढ्न प्रोत्साहन मिल्नेछ र महिला सशक्तिकरणमा पनि मद्दत पुग्नेछ ।

प्रकाशित मिति: माघ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend