Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न निर्वाचन आग्रह

हाम्रो कोशी आवाज
माघ ११ २०७८, मंगलबार
स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न निर्वाचन आग्रह

धरानः निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम विलम्ब हुँदै गए निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जाने बताउँदै आफ्नो परामर्शमा यथाशीघ्र निर्वाचनको मिति तोक्न आयोगले आग्रह गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा ९१० बमोजिम मिति तोक्न सरकारसँग आयोगले आग्रह गरेको आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । राजनीतिक दलले नै स्थानीय तहको निर्वाचन समयमा नै गर्नुपर्नेतर्फ जोड दिँदै आयोग पूर्ण तयारी अवस्थामा रहनुपर्ने र सरकारसँग समयमा नै निर्वाचन गर्न सम्पर्कमा रही मिति तोक्न सिफारिस गर्नेलगायतका विविध सुझाव प्राप्त भएको विषय स्मरण गराएको छ ।

आयोगका पदाधिकारी र १६ राजनीतिक दलका प्रतिनिधिबीच गत पुस ३० गते स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा गरिएका पूर्व तयारीका कार्य र स्थानीय तहको निर्वाचनको मिति तय गर्न नेपाल सरकारसमक्ष परामर्श दिने सम्बन्धमा बैठकमा उक्त सुझाव दिइएको थियो ।स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकाले निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्य निरन्तर गरिरहेको जानकारी दिएको छ । आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ साल वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तहको निर्वाचन २०७४ साल वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकामा पहिलो चरणलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आगामी २०७९ साल जेठ ५ मा समाप्त हुने आयोगले स्पष्ट गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्थाबमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोग पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलोपटक गत कात्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाबारेमा जानकारी गराएका थिए ।

दोस्रोपटक पुस ९ गते पुनः भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधिसम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराई आगामी वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण वैशाख १४ गते बुधबार र दोस्रो चरण वैशाख २२ गते बिहीबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्तावसमेत गरेको थियो ।

प्रकाशित मिति: माघ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend