Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना महामारी बढेसँगै हवाई यात्रु घटे

हाम्रो कोशी आवाज
माघ १२ २०७८, बुधबार
कोरोना महामारी बढेसँगै हवाई यात्रु घटे

धरानः कोरोना महामारी बढेसँगै हवाई यात्रुहरूको चाप पनि घटेको छ । आन्तरिक हवाई उडानमा यात्रुहरूको चाप पहिलेको तुलनामा २५ प्रतिशतले घटेको बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले बताए ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा दिइरहेको बताउँदै उनी भन्छन्, ‘अहिले यात्रुहरूको चाप पनि घटेको छ । हामीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेको छौँ । खोप कार्डलाई पनि अनिवार्य गरेका छौँ ।’ उनका अनुसार प्रतिदिन ७० देखि ८० उडान भर्ने गरेको बुद्ध एयरले अहिले दैनिक ५५ देखि ६० उडान भर्ने गरेको छ ।
यस्तै यात्रुहरूको चाप धेरै घटेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । उनी भन्छन्, ‘एउटा हेलिकप्टरले तीन दिनमा एउटा उडान भरिरहेको छ । मान्छेहरू पनि हिँडेका छैनन् । विवाहका लागि अलि अलि मान्छेहरू हिँडेका छन् । अति आवश्यक काममा लागि हिँड्ने यात्रुहरू केही छन् । नत्र मान्छे नै छैनन् । ४० प्रतिशत जति यात्रुहरू विवाहका लागि हिँडेका छन् ।’
उनका अनुसार अहिले हवाई उडानमा ५० प्रतिशत पनि यात्रु छैनन् । दिवा उडानमा यात्रु नभए पछि रात्रि उडान पनि भरिएको छैन । त्यस्तै उनले यात्रुहरूको सेवा सुविधाका लागि स्वास्थ्य मापदण्ड पालना गरेको बताए उनले भने, ‘हामीले यात्रुहरूको सेवा सुविधाका लागि स्वास्थ्य मापदण्ड पालना गरेका छौ । खोप कार्ड चेक गरेका छौँ । यात्रुहरूको निगरानी राखेका छौँ । एयरपोर्टमा पनि भिडभाड नहुने गरी सामाजिक दुरी कायम गरी सेवा सुविधा दिएका छौँ । ’
हवाई यात्रुहरूको सामानहरूमा पनि स्यानिटाइज गर्ने गरेको कँडेलले बताए । उनी भन्छन्,‘यात्रु र कर्मचारीहरू बिचमा भौतिक दुरी कायम गर्दै सेवा दिइरहेका छौ । साथै यात्रुहरूलाई स्यानिटाइजर पनि उपलब्ध गराउने गरेका छौ । त्यस्तै उडान सकिएपछि जहाजमा स्यानिटाइज पनि गर्ने गरेका छौँ । यात्रु ओसार पसार गर्ने गाडीमा सीमित यात्रु राख्ने गरिएको छ ।’
उनका अनुसार हाल प्लेन र हेलिकप्टर गरी दैनिक ८० उडान हुने गरेको छ । ‘दैनिक डेढ सय उडान भर्ने गरेकोमा अहिले मुस्किलले ८० उडान हुन्छ’, उनले भने ।

प्रकाशित मिति: माघ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend