धरानः नेपालको सबैभन्दा बढी जनसंख्या हुने महानगरमा काठमाडौँ महानगरपालिका कायमै रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार काठमाडौँ महानगरपालिकामा ८ लाख ६५ हजार ९ सय ६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १ सय ८७ जनसंख्या रहेको छ।
तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कमा सबै पालिकाको जनसंख्या भने उल्लेख गरिएको छैन । काठमाडौँ पछि पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र वीरगन्ज महानगरपालिका क्रमशः बढी जनसंख्या भएका नगर रहेको विभागले जनाएको छ ।
१ लाख भन्दा बढी जनसंख्या भएका नगरपालिका ३९ वटा पुगेका छन् । १४ वटा नगरपालिकाको जनसंख्या २० हजार भन्दा कम रहेको छ । सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकामा डोल्पाको ठूलीभेरी र त्रिपुरा सुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालीगुराँस र दोलखाको जिरी नगरपालिका रहेका विभागले जनाएको छ ।
सबैभन्दा धेरै जनसंख्या भएको गाउँपालिकामा बाँकेको बैजनाथ रहेको छ । जहाँको जनसंख्या ७० हजार ३ सय १५ छ । यस्तै, बाँकेकै राप्तीसोनारी र खजुरा, रुपन्देहीको मायादेवी र कपिलवस्तुको मायादेवी नगरपालिका शीर्ष ५ मा परेका धेरै जनसंख्या हुने नगरपालिका रहेको विभागले जनाएको छ।
यस्तै सबैभन्दा कम जनसंख्या मनाङको नार्फाभूमि गाउँपालिकाको रहेको र त्यहाँ जम्मा ४ सय ४२ मात्र जनसंख्या रहेको विभागले जनाएको छ। मनाङकै नार्पा भूमी, मनाङ ङिस्याङ र नासोँ तथा मुस्ताङका लो–घेकर दामोदर कुण्ड कम जनसंख्या भएका गाउँपालिकाका रुपमा रहेका छन्
१० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिका ४६ वटा छन् भने १५ वटा गाउँपालिकामा ५० हजार भन्दा बढी जनसंख्या रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जना पुगेको विभागले जनाएको छ ।