धरानः कोरोना भाइरस हामी माझ आएको करिब २ वर्ष भैसकेको छ। यसका आइरहेका नयाँनयाँ भेरियन्टले मानिसहरूलाई समस्यामा पारेको छ। भर्खरै भएको एक अनुसन्धानले पत्ता लगाएको छ कि, कोभिड-१९ को अत्याधिक संक्रामक भेरियन्ट ‘ओमिक्रोन’ प्लास्टिकमा ८ दिन र छालामा २१ घण्टासम्म बाँच्न सक्छ।
जापानको क्योटो प्रिफेक्चरल युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताहरू गरेको अनुसन्धानमा यो नयाँ भेरियन्ट अल्फा, बिटा, गामा र डेल्टा जस्ता कोरोनाभाइरसका अन्य भेरियन्टहरू भन्दा धेरै लामो समयसम्म बाँच्न सक्षम रहेको पनि खुलासा भएको छ।
‘प्रि-प्रिन्ट’मा पोस्ट गरिएको यो अध्ययन अझै पूर्ण रूपमा समीक्षा हुन भने बाँकी रहेको छ। तर अध्ययनले यो पनि खुलासा गरेको छ कि वुहानमा पाइने भाइरस र अन्य भेरियन्टहरू बीच भाइरल वातावरणीय स्थिरतामा भिन्नता पनि फेला परेको छ।
अध्ययनको नतिजाले वुहानमा फेला परेको स्ट्रेन कोरोनाका अल्फा, बिटा, डेल्टा र ओमिक्रोन भेरियन्टजस्ता कोरोनाका अन्य स्ट्रेनहरू भन्दा हल्का रहेको देखाएको छ। यी सबै भेरियन्टहरू प्लास्टिक र छालामा दुई गुणा लामो समयसम्म बाँच्न सक्छन्। अध्ययनका अनुसार ओमिक्रोन मृत व्यक्तिको छालामा २१.१ घण्टासम्म बाँच्न सक्छ, जबकि वुहानमा भेटिएको प्रारम्भिक स्ट्रेन ८.६ घण्टा, गामा (११ घण्टा) र डेल्टा (१६.८ घण्टा) सम्म बाँच्न सक्छ। यस्तै अल्फा (१९.६ घण्टा) र बिटा (१९.१ घण्टा) सम्म बाँच्न सक्छ।
अनुसन्धानकर्ताहरुले ओमिक्रोन भेरियन्टमा अन्य भेरियन्टहरूको तुलनामा उच्चतम वातावरणीय स्थिरता रहेको अर्थात धेरै बाँच्न सक्ने क्षमता रहेको बताएका छन्। यो स्थिरता, ओमिक्रोनलाई डेल्टा भेरियन्टमा रूपान्तरण गर्न र द्रुत रूपमा फैलाउन मद्दत गर्ने कारकहरू मध्ये एक हुनसक्ने उनीहरुले बताएका छन्।
अनुसन्धानकर्ताहरूले यो पनि भनेका छन् कि, ओमिक्रोन प्लास्टिक (पोलिस्टिरिन) सतहहरूमा १९३.५ घण्टा (लगभग ८ दिन) सम्म बाँच्न सक्छ, जुन मूल स्ट्रेन (५६ घण्टा) र गामा भेरियन्ट (५९.३ घण्टा) भन्दा तीन गुणा बढी जिवित हुनसक्छ। यति मात्र होइन, ओमिक्रोन डेल्टा (११४ घण्टा) र बिटा (१५६.६ घण्टा) भन्दा लामो समयसम्म बाँच्न सक्छ। यद्यपि, अल्फा भेरियन्ट मात्र ओमिक्रोन जस्तै १९१.३ घण्टा बाँच्न सक्छ।
स्यानिटाइजरले १५ सेकेन्डमा मार्छ भाइरस
अध्ययनले अल्फा, बिटा, डेल्टा र ओमिक्रोन सबै भेरियन्टहरू इथेनोल प्रतिरोधी भए पनि छालामा स्यानिटाइजरको प्रयोगले १५ सेकेन्डमा पूर्ण रूपमा भाइरस निष्क्रिय हुने कुरा पनि पत्ता लगाएको छ। अन्वेषकहरूले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको नियमअनुसार ह्यान्ड स्यानिटाइजर र कीटाणुनाशकहरू प्रयोग गर्न सिफारिस पनि गरेको छ।