धरानःहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका तराई भू-भागमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशको पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रहेको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।
मंगलबार प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधबार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली तथा बाकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।