धरानः पानी पार्ने प्रणाली बाहिरिन थालेको छ । यससँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसो पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ ।
जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ । काठमाण्डौको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस, भैरहवाको अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस, सिमराको २४ दशमलव ६ डिग्री सेल्सियस, विराटनगरको २४ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै, दीपायल र नेपालगञ्जको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र वीरेन्द्रनगरको २० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने हुँदा तापक्रम बढ्ने मौमसविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनले अब विस्तारै गर्मी बढ्दै जाने समेत बताए । अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हटी घाम लाग्ने उनको भनाइ छ । यस्तै, पहाडी क्षेत्रको मौसम भने आंशिक बद्ली हुने अनुमान छ भने वाग्मती, गण्डकी र प्रदेश–१ का केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।