धरानः नयाँ प्रतिभाशाली कलाकारहरुलाई मौका दिने क्रममा गायक राजेशपायल राईले भ्वाइस अफ किड्स प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको युगल गीत ‘सायारेम’ को स्टुडियो भिडियो सहित सार्वजनिक गरेका छन् ।
पछिल्ला गीतजस्तै यो गीतलाई पनि दर्शक–स्रोताहरुले औधी मन पराइरहेको सामाजिक सञ्जाल तथा युट्युबको भ्युजले देखाएको छ । राजेशपायलको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीत नेपालसँगै कतारमा समेत ट्रेन्डिङमा रहेको छ ।
नेपालमा ‘सायारेम’ सँगै पेमा देचेन तामाङसँगको ‘सै हँमा’ र रुक्सना लिम्बूसँगको ‘चोरी भो’ गीतपनि युट्युब ट्रेन्डिङमा रहिरहेको छ । यो आफैमा एउटा उपलब्धि हो । ट्रेन्डिङ र भ्युजभन्दा पनि सदावहार गीत–संगीतले स्रोता–र्शकहरुको माया पाइराख्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको र राम्रा गीत सङ्गीतसँगै नयाँ प्रतिभाहरुलाई समेत अवसर दिइराख्ने गायक राजेशपायल बताउँछन् । राजन मुकरुङको शब्द तथा सङ्गीत रहेको गीतमा रहेको सायारेम शब्द गीतसँगै अहिले लोकप्रिय हुँदैछ ।
मुन्दुमी शब्दबाट सापटी लिइएको सायारेमको अर्थ बल शक्ति मिलोस्, आशीर्वाद मिलोस्, शिर उच्च होस् भन्ने रहेको छ । स्टुडियो भिडियो नै भएपनि शब्द–सङ्गीत र स्वरको त्रिवेणीले उत्कृष्ट बनेको छ ।
https://youtu.be/iP6BHlf9WLE