धरानः अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ ।
एक १७ वर्षीया गायिकाले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएको प्रहरीले जनाएको छ ।
शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीका अनुसार दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् । गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाएकी छिन् ।
उनीहरूको सम्बन्धका बारेमा लामो समयदेखि गसिप भइरहेको थियो । नेपालको कानुनअनुसार १८ मुनिका बालबालिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि त्यो बलात्कार ठहरिन्छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८, करणीसम्बन्धी कसूर दफा २१९ को उपदफा ३(घ) अनुसार पलविरुद्धकाे आराेप पुष्टि भए कम्तीमा १० वर्ष जेल सजाय हुने छ । -यसअघिको समाचारमा जाहेरी दिने गायिकाको नाम उल्लेख भएकोले क्षमायाचनासहित सच्याइएको छ ।