Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेलायतमा ल्याइएको नयाँ नियमले गोर्खा सैनिकले लाभ लिने

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०७८, शुक्रबार
बेलायतमा ल्याइएको नयाँ नियमले गोर्खा सैनिकले लाभ लिने

धरानः हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ ।
यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा ६ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ ।
बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र गृहमन्त्री प्रिती पटेलले लण्डनस्थित सेनाको मुख्यालयमा गैरबेलायती सैनिकको भेलामा उक्त घोषणा गरेका हुन् । भिसा शुल्क छुटको सुविधा पहिले नै अवकाश लिएकाहरूका हकमा पनि लागू हुने जनाइएको छ ।
रक्षामन्त्री वालेसले विदेशी मुलुकका नागरिकले बेलायती सेनामा पुर्याएको योगदानको कदरस्वरूप भिसा शुल्क नलिने निर्णय लिइएको बताए ।
सरकारको नयाँ नीतिपछि अब बेलायती सेनामा कम्तीमा ६ वर्ष सेवा गरेका र सेवाकै क्रममा घाइते वा बिरामी परेर अवकाश लिने विदेशी नागरिकले बेलायतको भिसा लिन कुनै शुल्क तिर्नुपर्ने छैन ।
बेलायती सेनामा क्यानडा, फिजी, अष्ट्रेलिया, धाना, भारत, जमइका, नेपाल, न्यूजील्याण्ड, नाइजेरिया, सेन्ट लुसिया र दक्षिण अफ्रिकाका गरी नौ हजार जति गैरबेलायती रहेका छन् । बेलायतमा सेटलमेन्ट भिसा आवेदन गर्दा अहिले प्रतिव्यक्ति दुई हजार ३८९ पाउन्ड शुल्क बुझाउनुपर्छ ।
बेलायतका लागि व्यक्तिगतरूपमा गरेको योग्दानको मूल्याङ्कनस्वरूप यो कदम चालिएको र यसबाट गोर्खा र कमनवेल्थका अन्यलाई पनि सहयोग पुग्ने गृहमन्त्री पटेलले बताए ।

प्रकाशित मिति: फाल्गुन १३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend