धरानः अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन्। अधिवक्ता खतिवडाले सामाजिक सञ्जालमा पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने जानकारी दिएकी हुन्।
‘हिजो एक १७ वर्षिया यौनजन्य हिंसाबाट पीडित किशोरीसँग कुरा भयो। निज पीडित किशोरीले उनको पक्षमा कानुनी लडाइँमा सहयोग गर्न अनुरोध गरिन् मैले हुन्छ भनेकी छु। १८ वर्षमुनिका बालबालिका र १८ वर्ष कटेका बालिग मानिसका बीचमा कानुनमा ठूलो अन्तर छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,’हरेक बालबालिका कसैका छोराछोरी मात्र होइनन्, उनीहरू समाजका छोराछोरी हुन्। बालिकामाथिको बलात्कार भनेको सभ्य समाजको निम्ति लज्जाको विषय हो। बालिकालाई समाजका दानवरूपी पुरुषबाट जोगाउन दिन दिनै जटिल बन्दै गएको छ।’
१८ वर्षमुनिका पीडित बालिकाको सहमतिमा पनि करणी गर्न मिल्दैन भन्ने कानुनी व्यवस्थालाई सबैले हेक्का राख्न उनले सुझाएकी छिन् । ‘कानुनले बर्जित गरेका क्रियाकलाप गर्ने छुट केही हाई प्रोफाइल वा ग्ल्यामरस फिगरलाई छैन। कानुनको रक्षा गर्नु हाम्रो धर्म हो। एउटा घटनालाई लिएर समाज ध्रुवीकरण भएको छ (सहमतिमा शारीरिक सम्बन्ध भयो अनि अहिले केही मानिसको उक्साहटमा निज पीडकलाई षडयन्त्र गरियो)। कानुनको विषय त्यस्तो होइन।’
अधिवक्ता खतिवडाले पल आफूलाई पनि सबैभन्दा मन पर्ने सेलिब्रेटी भएको पनि बताइन्। ‘यिनले यस्तो नगर्नुपर्ने। किन यस्तो गरे भन्ने प्रश्न मेरो मनमा पनि धेरै पटक आएकै हो। तर कानुनको अनविज्ञता कसैलाई क्षम्य हुँदैन। अझ रियल हिरोको उपनाम पाएका व्यक्तिलाई छुट दिनेगरी बहस चलाउनु हुँदैन। कानुनका नजरमा सबै समान हुन्छन्। सबैलाई एउटै कानुन लागू हुने हो’, उनले लेखेकी छन्।
अधिवक्ता खतिवडा केही समय अगाडि बाराका उमाशंकर रायभरलाई न्याय दिलाएपछि चर्चामा आएकी थिइन्। रायभरको नागरिकताका दुरुपयोग हुँदा उनीमाथि २८ करोड राजस्व नतिरेको आरोप लागेको थियो। उनले रायभरको पक्षमा वकालत गरेर निर्दोष रायभरलाई न्याय दिलाउन सफल भएकी थिइन्।