नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ । कांग्रेसले आगामी निर्वाचन केन्द्रित ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अघि सारेको छ । पत्रकार सम्मेलन गरेरै कांग्रेसले आगामी फागुन २९ देखि चैत २९ सम्म एक महिना ७७ वटै अभियान अघि बढाउने घोषणा गरेको हो ।
घोषणामा ७७ वटै जिल्लामा केन्द्रीय सदस्यलाई परिचालन गरिएको छ । मुख्य गरीकांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउने गरी अभियान बढाएको हो । अभियानमा अघिल्लो सरकारको भण्डाफोर, कांग्रेस सरकारको प्रभावकारी कदमको प्रचार, एमसिसीबारे बुझाउनेसहितका विषयमा कांग्रेसले प्रचार गर्दैछ ।
पार्टीले प्रतिनिधिहररूको दायित्व र जिम्मेवारी पनि तोकेको छ । केन्द्रीय प्रतिनिधिहरु अभियान शुरु हुनु २ दिन अघि जिल्लामा पुगिसक्नेछन् । अभियानको शुरु हुनु अघि र शुरु भए पश्चात वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्नैपर्नेछ ।
सात प्रदेश कार्यसमितिले केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गर्नेछन् । कार्यक्रमको कार्यान्वयनका लागि आवश्यक जिम्मेवारी बाँडफाँट, अभियानका कार्यक्रमहरु व्यवस्थित बनाउन प्रेरक भूमिका खेल्नुपर्नेछ । केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो प्रदेश भित्र घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानमा आवश्यकता अनुसार थप कार्यक्रम पनि गर्न सक्नेछन् । साथै, आफ्नो प्रदेश भित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने काम पनि गर्नुपर्नेछ ।
उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन् । ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए ।
पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउने पनि बताए ।