Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङमा सबैभन्दा बढी र मनाङमा सबैभन्दा कम मतदाता

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७८, शनिबार
मोरङमा सबैभन्दा बढी र मनाङमा सबैभन्दा कम मतदाता

धरानः आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् ।
स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको हो।
आयोगले एक करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली तयार गरी स्थानीय तहको सबै वडामा फागुन १९ गते अद्यावधिक(दावी विरोध)का लागि सूचना टाँस गरिएको जानकारी दिएको छ। आयोगका अनुसार, सबैभन्दा बढी मोरङमा सात लाख १७ हजार ६७ मतदाता छन् भने सबैभन्दा कम मनाङमा छ हजार ५७१ रहेको छ।
सबैभन्दा कम ४५० मतदाता भएको स्थानीय तह मनाङको नार्पाभूमि हो भने काठमाडौँ महानगरपालिका सबैभन्दा बढी तीन लाख ५८७ मतदाता भएको स्थानीय तह हो।
आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा तीन तहकै सरकारलाई निर्वाचनसम्बन्धी कार्यमा आवश्यक सहयोग, सहकार्य, समन्वय र तयारीका लागि २४ विषय समावेश गरी निर्देशन हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई लेखी पठाएको छ।
आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि रु २० लाख बराबरको सामूहिक दुर्घटना बीमा स्वीकृत भएको जानकारी दिएको छ। आयोगले विगतका निर्वाचनमा प्रयोग भएका मतपत्रलाई आधार मानी विभिन्न जिल्लामा १६ देखि ६० लहरसम्मको मतपत्रको अनुमान गरिएको राजनीतिक दललाई जानकारी गराएको छ।
आयोगका अनुसार, १६ लहरको ११ जिल्ला, १८ लहरको छ जिल्ला, २० लहरको १३ जिल्ला, २४ लहरको १४ जिल्ला, २८ लहरको १२ जिल्ला, ३३ लहरको ११ जिल्ला, ४० लहरको सात जिल्ला, ४४ लहरको एक जिल्ला, ५० लहरको एक जिल्ला र ६० लहरको एक जिल्लाका लागि मतपत्र अनुमान गरिएको छ।
निर्वाचन कार्यतालिका अनुसार, निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छपाइ कार्य गर्न सम्भव नभएकाले आगामी चैत १६ देखि वैशाख २० गतेसम्म मतपत्र छपाइ गरी मुख्य निर्वाचन कार्यालयमा पठाइ सक्ने जानकारी दिइयो। प्राविधिक समितिले दिएको सुझावका आधारमा आगामी स्थानीय तह निर्वाचनमा सेतो कागजमा हरियो रङ्गको निर्वाचन चिह्न र विवरण छपाइ गर्न आवश्यक प्रक्रिया अघि बढाइएको पनि आयोगले स्पष्ट पारेको छ।

प्रकाशित मिति: फाल्गुन २८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend