धरानः नेपाल आयल निगमले पेट्रोलियमको मूल्य बढाएको छ । निगमले पेट्रोलि, डिजल र मट्टितेलमा पाँच रुपैयाँ मूल्य वृद्धि भएको छ । आन्तरिक हवाई भाडामा १५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई भाडामा २०० रुपैयाँ वृद्धि भएको छ । तर, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
निगमले सार्वजनिक गरेको यो मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुनेछ । पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।
आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।
