धरानः नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । नाबालिग गायिका बलात्कारको आरोपमा बुधवारदेखि सुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले एक नम्बर न्यायाधिश हरिषचन्द्र ढुंगानाको इजलाशबाट शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आदेश भएसँगै जिल्ला कारागार तनहुँमा पललाई चलान गरिसकिएको प्रहरीले जनाएको छ।
१६ वर्षीया नाबालिग गायिकालाई भिडियो छायाङ्कनका क्रममा पटक पटक बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शाह पक्राउ परेका थिए । पल विरुद्ध नवलपुर अदालतमा समेत सोहि प्रकृतिको मुद्धा दायर भइसकेको छ ।
शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै कानुन अनुसार १४ वर्षको जेल सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।
यसअघि तनहुँ प्रहरीले अनुसन्धान सकाएर गत सोमबार प्रस्तावित राय सुझाव बुझाएपछि मंगलवार जिल्ला न्यायाधीवक्ताको कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । थुनछेक बहसमा प्रतिवादीद्धय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।