Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गुणस्तरीय शिक्षाबारे भ्रम र यथार्थ

हाम्रो कोशी आवाज
चैत्र १३ २०७८, आइतबार
गुणस्तरीय शिक्षाबारे भ्रम र यथार्थ

अभिभावक, विद्यार्थी, सरकार सबै गुणस्तरीय शिक्षा कै लागि लगानी गर्दछन् । शिक्षाका एनजिओ, आइएनजिओहरु तारे होटलका सभा, सेमिनारमा गुणस्तरीय शिक्षाकै चर्चा गर्ने गर्दछन् तर गुणस्तरीय शिक्षा भनेको के हो ? यसका मापदण्डहरु के के हुन् ? नेपालको सन्दर्भमा यसको परिभाषा के हो ? यसको वस्तुगत उत्तर दिन शिक्षाविद्, पाठ्यक्रमविद, प्राध्यापक, शिक्षकहरु सबै अलमल भएको देखिन्छ ।
कतिपयले अंग्रेजी भाषा जान्नु, परीक्षामा उच्च अङ्क ल्याउनु, धेरै अर्थोपार्जन गर्ने विषयहरु डाक्टर, इञ्जिनियर विषयको पढाइ गुणस्तर मान्दछन् तर परिक्षामा उच्च अंकले विद्यार्थीको स्मरणशक्ति, लेख्ने शैली र गतिलाई मात्र मापन गर्दछ । कतिपयले धेरै लगानी गरी विदेशी शैक्षिक संस्थामा पढाउँदा वा सुविधासम्पन्न भवन राम्रो पोशाक, मोटर गाडीको सुविधा, धेरै शुल्क लिने स्कूलहरुमा शैक्षिक गुणस्तर प्राप्त हुन्छ भन्ने धारणा राख्दछन् ।
त्यसो भए स्वदेशका, लगानी धेरै गर्नुपर्ने शैक्षिक संस्थाहरुद्वारा प्रदान गरिएको शिक्षा गुणस्तरहीन छ त ? आज दुःखको कुरा शैक्षिक गुणस्तरको वारेमा यथार्थता नबुझिकन यसको चर्को मूल्यमा खरिदबिक्री भइरहेको छ । वास्तवमा मानिसको जीवनलाई सरल सुखद् र सन्तुष्ट बनाउनका साथै व्यक्ति समाज र राष्ट्रको समग्र समुन्नतिमा शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ ।
शिक्षा मानिसको नैसर्गिक मौलिक अधिकार हो तर विडम्बना नेपालमा शिक्षामा निजीकरण र व्यापारीकरणको कारण जसरी भए पनि उच्च अङ्क ल्याउनुपर्ने परीक्षामुखी शिक्षालाई गुणस्तरको मापदण्ड बनाइएको छ । यो अस्वस्थ प्रतिस्पर्धामा सामुदायिक विद्यालयहरु समेत सामेल हुन थालेका छन् । यस्तो परीक्षामुखी शिक्षाले विद्यार्थीको मौलिकता, सिर्जनशीलता नष्ट गरिदिन्छ । यस्तो शिक्षाले सामन्ती र भतुवा संस्कृतिको विकास गरीरहेको छ । यस्तो शिक्षाले विलासी जीवनमा रमाउने विनाश्रम पैसा कमाउने, पैसाका लागि विदेशिने, विदेशीको विकृतिलाई आफ्नो संस्कृति ठान्ने, अरुले अह्राएको काम गर्ने, अर्काको उत्पादन उपभोग गर्ने, अरुको देशमा रमाउने भतुवा संस्कृतको विकास गरिरहेको छ । यसको साथै यस्तो शिक्षाले विद्यार्थी र शिक्षकमा तनाव वृद्धि गरी डिप्रेसनको स्थिति पैदा गरेको छ । जसले विद्यार्थी र समग्र राष्ट्रको हित गरिरहेको छैन ।
त्यसकारण राज्यले नागरिकलाइ गुणस्तरीय शिक्षा प्रदानको व्यवस्था सुनिश्चित गर्नुपर्दछ । गुणस्तरहीन शिक्षा प्रदान गर्नु भनेको राष्ट्रलाई चाँडै बर्बादीतर्फ धकेल्नु हो । गुणस्तरीय शिक्षाबिना दिक्षीत र प्रमाणित जनशक्तिले उत्पादन, सेवा प्रवाहका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, निर्माण, अर्थ, संस्कृति, न्यायलगायतका सबै क्षेत्रमा गुणस्तरहीन सेवा प्रदान गर्दै पुनः ती सबै क्षेत्रमा दुरगामी नकारात्मक असर पारिरहेको हुन्छ ।
त्यसकारण सर्वप्रथम शिक्षामा प्रमुख लगानीकर्ता राज्य, दोस्रो लगानीकर्ता अभिभावक, विद्यार्थी समाज, शिक्षक, शिक्षा क्षेत्रका विज्ञहरू गुणस्तरीय शिक्षा के हो भन्नेबारेमा स्पष्ट हुनु जरुरी छ । नेपालको सन्दर्भमा यहांको संस्कृति, परम्परा, उत्पादन प्रणाली, मूल्य, मान्यता र आन्तरिक र विश्व बजारसमेत लाइ मध्यनजर गरी गुणस्तरीय शिक्षाको स्पस्ट परिभाषा तय गर्नुपर्दछ । गुणस्तरीय शिक्षा प्राप्तिका आधारहरु र यसको मापन प्रणाली समेत निर्धारण गरिनुपर्दछ ।
वास्तवमा गुणस्तरीय शिक्षालाई निरपेक्ष र सापेक्ष दुवैरुपमा परिभाषित गर्न सकिन्छ । आधारभूत मानवीय गुण, ज्ञान, सीप, क्षमता र आचरणको आर्जन नै निरपेक्ष गुणस्तरीय शिक्षा हो भने देश, समय, परिस्थिति, उत्पादन प्रणालीका अधारमा गुणस्तरको सापेक्ष परिभाषा गरिनु पर्दछ। गुणस्तरीय शिक्षाको सन्दर्भमा एउटै र सर्वमान्य परिभाषा सम्भव छैन ।
उपभोक्ता वादि दृष्टिकोणमा लगानीकर्ताको सन्तुष्टिका आधारमा गुणस्तर नापिन्छ । यदि शिक्षामा लगानीकर्ता सन्तुस्ट हुन्छन् भने त्यो गुणस्तरीय शिक्षा हो तर अन्य वस्तु उपभोगको नियम पुर्ण रुपमा शिक्षामा लागु हुदैन । किनकी नागरिकको शिक्षामा राज्य, अभिभावक, विद्यार्थीको लगानी हुन्छ, कस्को सन्तुष्टीको मापन गर्ने ? अर्को कुरा मानिस एउटा सामाजिक प्राणि भएका कारण समाज प्रति पनि उस्को दायित्व हुन्छ । त्यसकारण समाजको सन्तुष्टिको पनि सम्बोधन गर्नुपर्दछ ।
यस्तै, व्यवहारवादी दृष्टिकोणमा गुणस्तरीय शिक्षा भनेको कक्षामा सिकेको कुरा व्यवहारमा लागू गर्न सक्नु, व्यवहारिक समस्या समाधान गर्न सक्नु, आशावादी, सहि गलत छुट्टाउन सक्ने, राम्रो कुराको अनुशरण गर्ने, पारीवारिक वा सामाजिक मेलमिलाप कायम गर्नसक्ने, सही समयमा सही निर्णय लिन सक्ने, राष्ट्र राष्ट्रियताप्रति सच्चा प्रेम गर्ने, प्रजातान्त्रिक संस्कार भएको, स्वतन्त्रता पे्रमी, स्वावलम्वी, उद्यमशिल, न्यायप्रेमी, विश्व बजारमा प्रवेश गर्नसक्ने क्षमताको विकास गराउने शिक्षा नै गुणस्तरीय शिक्षा हो ।
त्यस्तै, आध्यात्मवादीहरु गुणस्तरीय शिक्षालाई आदर्श र कर्मशील मानव जीवन तयार गर्ने साधन मान्दछन् । उनीहरुका अनुसार गुणस्तरीय शिक्षाले मानिसलाई कर्मशील एवम् अनुशासित बनाउँछ । यस्तै गुणस्तरिय शिक्षाका सन्दर्भमा वैज्ञानिक अल्वर्ट आइन्स्टानले शिक्षाका लागि विषयवस्तुको तथ्य जान्नु मात्र नभई देशको समस्या समाधानको लागि नयाँ विज्ञान र प्रविधिको आविस्कार तथा सिर्जनशीलताको विकास गराउने शिक्षा गुणस्तरीय शिक्षा हो ।
यसैगरी केही अर्काथरी विद्वानहरु ज्ञान सीप र आचरणमा सकारात्मक परिवर्तन गराउने शिक्षा नै गुणस्तरीय शिक्षा हो भनि गुणस्तरीय शिक्षालाई परिभाषित गर्दछन् । यसरी गुणस्तरीय शिक्षासम्बन्धी माथिका सबै दृष्टिकोणहरुलाई केलाउँदा जुनसुकै विषय अध्ययन गरे पनि, जुनसुकै भाषाको माध्यमवाट अध्ययन गरे पनि शिक्षाको माध्यमबाट विद्यार्थीले आफू के बन्न वा कस्तो क्षमता आर्जन गर्न चाहन्छ, त्यस्तै अभिभावकले आफ्नो सन्तान कस्तो बनेको हेर्न चाहन्छ र समाज र राष्ट्रले कस्तो सीप, आचरण क्षमता भएको नागरिक उत्पादन गर्न चाहन्छ, ती सबै गुण, क्षमता, सीप, आचरण आर्जन गरेको र व्यवहारमा लागू गर्न सक्ने नागरिक उत्पादन गर्ने शिक्षा नै वास्तवमा गुणस्तरीय शिक्षा हो । परीक्षाको उच्च अंकले मात्र गुणस्तरको मापन गर्दैन । शिक्षाको गुणस्तर सुधार, सबैको साझा प्रयत्नबाट मात्र सम्भव छ । साथसाथै गुणस्तरीय शिक्षा शिक्षकको एकल प्रयत्नबाट मात्र सम्भव छैन । गुणस्तरीय शिक्षा प्राप्तीको लागि गुणस्तरीय आधारभुत तत्वहरु आवश्यक हुन्छन जुन यसप्रकार रहेका छन् ।
गुणस्तरीय नेतृत्वः
विद्यालयको नेतृत्व प्रधानाध्यापकले गरिरहेको हुन्छ । प्रधानाध्यापक विद्यालयको नेतृत्व मात्र नभई एउटा कुशल व्यवस्थापक र प्रशासक पनि हो ।
गुणस्तरीय शिक्षकः
शिक्षण सिकाइमा सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षकहरूको हुन्छ । विद्यालयमा योग्य सक्षम शिक्षण पेशा प्रति समर्पित, सकारात्मक सोच भएका शिक्षकहरु हुन नितान्त आवश्यक हुन्छ । त्यसैले शिक्षण पेशामा उत्कृष्ट जनशक्ति प्रवेश सुनिश्चित गरिनुपर्छ। शिक्षण पेशा योग्य नागरिक उत्पादन गर्ने कार्य भएको कारण, यो क्षेत्रमा ए ग्रेडका जनशक्तिलाइ आकर्सित गर्न विशेष सुविधाको व्यवस्था गरिनु पर्दछ ।
गुणस्तरीय सिकारुः
युनिसेफका अनुसार गुणस्तरीय शिक्षाको लागि विद्यार्थी स्वस्थ, राम्रो पालन पोशण भएको, सिकाइको लागि स्वयं विद्यार्थी अग्रसर रहनुको साथै परिवार समाजले पनि अध्ययन क्रियाकलापमा पूर्ण सहयोग गरेको हुनुपर्दछ। विद्यार्थीको आर्थिक सामाजिक एवम् पारिवारिक अवस्थाले पनि सिकाइमा प्रभाव पार्ने गर्दछ । बालबालिकाको शारीरिक, मानसिक, सवेगात्मक, सामाजिक विकासले सिकाइमा महत्वपूर्ण भुमिका राख्दछ तर नेपालको सामुदायिक विद्यालयमा पढ्र्ने अधिकांस बालबालिहरुको राम्रोसँग पालनपोषण नभएको, अस्वस्थ, पारिवारिक वातावरण बालमैत्री नभएको, अनेक पारिवारिक समस्याका कारण नकारात्मक असर भएका बालबालिकाहरु अध्ययन गर्न आउने भएको कारण सामुदायिक विद्यालयमा अपेक्षित शैक्षिक गुणस्तर सुधार हुनु सकेको छैन । यसको लागि राज्यले बालबालिकालाई पौष्टिक खाजा उपलव्ध गराउने, अभिभावकलाई सामाजिक चेतना जगाउने, बालबालिकाको स्वास्थ्य जाँच गराउने, परिवारको आर्थिक आयआर्जनको व्यवस्था पनि गरिनुपर्दछ ।
गुणस्तरीय सिकाइः
शैक्षिक गुणस्तरको महत्वपूर्ण आधार गुणस्तरीय सिकाइ पनि हो । शिक्षकले विद्यार्थीलाई उनीहरूको रुचि, क्षमता, चाहना अनुसार सिकाइ क्रियाकलापमा सक्रिय गराउनुपर्दछ । सिकाइ परिक्षामुखी नभई जीवन उपयोगी ज्ञान, सीप र आचरणको आर्जन गर्ने हिसाबले हुनुपर्छ । सिकाइ वा शिक्षणको लागि शिक्षक उत्साहित, जाँगरिलो, सहयोगी हुनु पर्दछ भने पूर्वतयारी र पाठयोजना सहित सिकाइमा सरिक हुनु पर्दछ ।
गुणस्तरीय विषय वस्तुः
शैक्षणिक विषयवस्तु विद्यार्थीको उमेर अनुसार उपयुक्त सान्दर्भिक र रुचिकर हुनुपर्दछ । विद्यालयमा सिकाइने विषयवस्तुहरु विद्यार्थीको चाहना समय सापेक्ष र रचनात्मक हुनुपर्छ । आजको युग विज्ञान र प्रविधीको युग भएको हुदा विज्ञान र प्राविधिक विषयहरु विद्यार्थीको रुचिकर र जीवन उपयागी हुन सक्छन् । त्यसको अतिरिक्त शिक्षाको माध्यमबाट विद्यार्थी अभिभावक, समाज,राष्ट्रले कस्तो ज्ञान सीप र आचरण आर्जन गरको विद्यार्थी उत्पादन गर्न चाहन्छन सोहि अनुसारको विषयवस्तु शिक्षण गरिनु पर्दछ ।
गुणस्तरीय पूर्वाधारः
विद्यालयको पूर्वाधार पूर्ण बालमैत्री हुनुपर्दछ । तोकिएको मापदण्डअनुसार विद्यालयमा प्रशस्त उज्यालो आउने फराकिला कक्षाकोठाहरू, स्वच्छ खानेपानी, उपयुक्त शैक्षिक सामग्री उपयुक्त फर्निचर, स्वच्छ शौचालय, उपयुक्त खेल सामग्री, खेलमैदान, मनोरम हरियालीयुक्त वातावरण, अध्ययनको लागि पुस्तकालय, प्रयोगात्मक अभ्यासका लागि विभिन्न प्रयोगशालाहरू, व्यवस्थित वाल विकास केन्द्रहरुको व्यवस्था, प्राथमिक उपचारको व्यवस्था, स्वच्छ खाना पाइने चमेनागृह, प्रत्येक कक्षा कोठामा वुककर्नर, आइसीटी ल्याव जस्ता गुणस्तरीय पूर्वाधारहरु गुणस्तरिय शिक्षाको लागि आधारभूत तत्वमा पर्दछन् ।
गुणस्तरीय व्यवस्थापनः
विद्यालयको भौतिक शैक्षिक आर्थिक एवं अन्य समग्र व्यवस्थापन चुस्त दुरुस्त र पारदर्शी हुनुपर्दछ । विद्यालयमा विद्यालय सुधार योजना निर्माण, वजेट निर्माण, सामाजिक परीक्षणलगायतका क्रियाकलापमा विद्यार्थी शिक्षक र समुदायको सार्थक र निर्णायक सहभागिता गराउनु पर्दछ । जसले गर्दा विद्यालयप्रति सहयोग, विश्वास, अपनत्वको भावना बोध गराउँछ ।
गुणस्तरीय लगानीः
शिक्षा क्षेत्रको समग्र विकासको लागि आवश्यकता अनुसार प्रयाप्त वजेट आवश्यक पर्दछ । उचित लगानी विना अपेक्षीत प्रतिफल प्राप्त हुन सक्दैन । शिक्षामा दिगो विकास लक्ष्य पूरा गर्न र संविधानप्रदत्त निःशुल्क एवं अनिवार्य शिक्षाको अधिकार प्रत्याभूत गर्न शिक्षामा एथेस्ट बजेको आवश्यकता पर्दछ ।
गुणस्तरिय नीतिः
कुनै पनि क्षेत्रलाइ सही दिशानिर्देश गर्न त्यससंग सम्वन्धित निती नियमको महत्वपूर्ण भूमिका रहन्छ शिक्षाको गुणस्तरको लागी शिक्षा निति, नियम समय सापेक्ष र प्रगतीशिल हुनु जरुरी हुन्छ । सम्बद्ध सबै पक्षको काम कर्तव्य अधिकार, शिक्षक नियुक्ति, तालिम पाठ्यक्रम निर्माण, शिक्षाका राष्ट्रिय ,तहगत उद्देश्य निर्धारण, शिक्षण प्रक्रिया, मूल्याङ्कन प्रक्रिया ,सबै नीतिनियम समय सापेक्ष र वैज्ञानिक हुनु जरुरी हुन्छ ।

प्रकाशित मिति: चैत्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend