धरानः नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह निर्वाचनको लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवार छान्ने ६ बुँदे मापदण्डसहितको पार्टी मातहातका कमिटीलाई परिपत्र जारी गरेका हुन्।
विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउन प्रचण्डकाे परिपत्रमा उल्लेख गरिएकाे छ। यस्तै, देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको, स्वच्छ छवि भएको, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति, पार्टी अनुशासनप्रति निष्ठावान र समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिन परिपत्रमा आग्रह गरिएको छ।
आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायमै राख्ने सहमति बनेको छ। सत्तारुढ गठबन्धनमा सामेल भएका कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्टिय जनामोर्चाबीच तत्लो तहसम्मै तालमेलको प्रयास भइरहेको छ।
यस्ता छन् मापदण्ड
१. विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदोहोर्याउने
२. देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको
३. स्वच्छ छवि भएको
४. विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५. पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
६. समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने