धरानःवर्षा गराउने पश्चिमी वायु कमजोर भएर जमिन तातिने क्रम बढेसँगै धेरै ठाउँमा गर्मी बढेको छ। तापक्रम उकालो लागेपछि अधिकांश भेगको जनजीवन प्रभावित बन्न थालेको छ ।
पश्चिमी वायु कमजोर रहेकाले अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विभागको प्रक्षेपण छ। गत सातादेखि भारतका धेरै ठाउँमा तातो हावा (लू) चल्न थालेकाले त्यसको प्रत्यक्ष-अप्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको मौसमविद् बताउँछन् ।
समग्र भारतको ५० प्रतिशतभन्दा धेरै भागमा लूको असर जारी रहेकाले भारतसँग सीमा जोडिएका नेपालका भू–भागमा गर्मी बढेको जलवायुविज्ञ डा. धर्म उप्रेतीले बताए ।
‘केही दिनयता पश्चिम भारतमा अत्यधिक गर्मी बढेपछि लू चलेको छ। जम्मु-काश्मिरमा औसतभन्दा ६ देखि ८ डिग्री र उत्तर प्रदेशमा औसतभन्दा ४ देखि ६ डिग्रीले तापक्रम बढेको पाइएको छ’, उनले भने ।
दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगंज, भैरहवा, दाङ, जनकपुर, सिमरा र आसपासका भेगको तापक्रम निकै बढेको छ। धनगढी र नेपालगंजको तापक्रम ३८ डिग्रीभन्दा माथि छ। सोमबार धनगढी र नेपालगंजको तापक्रम क्रमशः ३९ दशमलब ५ र ३९ दशमलब ९ डिग्री पुगेको थियो ।
काठमाडौँको तापक्रम मंगलबार एकै दिन डेढ डिग्री बढेको छ। सोमबार उपत्यकाको तापक्रम ३० डिग्री रहेकामा मंगलबार ३१ दशमलब ५ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु कमजोर बन्दा मधेस प्रदेश र लुम्बिनी प्रदेशदेखि पश्चिम तराईका धेरै ठाउँमा गर्मी बढ्दो क्रममा रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनले भनिन्, ‘अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा मौसम केही बदलिएको छ तर तत्काल पश्चिमी वायु सक्रिय बन्ने सम्भावना नरहेकाले धेरै ठाउँमा गर्मी अझै बढ्छ ।’
मौसमविद्हरू तापक्रम ४० डिग्री पुगेपछि लूको प्रभाव मान्ने गर्छन्। लूको प्रभाव निरन्तर रहने बताउँदै भारतीय मौसम विभागले अधिकांश प्रदेशमा ‘हाई अलर्ट’ जारी गरेको छ ।
पश्चिम राजस्थान, पूर्व राजस्थान, गुजरात, बिहारलगायतका भेगको तापक्रम ४३ डिग्री हाराहारी पुगेको छ। विश्व मौसम सङ्गठन र भारतीय मौसम विभागले गत महिना (मार्च)लाई यस शताब्दीकै सबैभन्दा बढी गर्मी महिनाका रूपमा घोषणा गरेका छन्। अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु–काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट भित्रिने वायु केही सातायता कमजोर छ ।