सफाइ पाउने सम्भावना पनि छ, सजाय पनि हुनसक्छः अधिवक्ता
धरानः अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छिन् ।
शाहमाथि लागेको बलात्कारको अभियोगले नयाँ मोड लिएको छ । जिल्ला अदालत तनहुँमा पीडित नाबालिग र जाहेरवाला उनका बुवाले शाहलाई राहत मिल्ने गरी बकपत्र दिएपछि मुद्दा कमजोर हुने संकेत देखिएको हो ।
आइतबारदेखि जिल्ला अदालत तनहुँमा बकपत्र सुरु भएको छ । सुरुमै बकपत्रका क्रममा पीडित नाबालिग गायिकाले आफूमाथि बलात्कार नभएको बताएकी छन् । अदालतमा उपस्थित एक कानुन व्यवसायीले भने, ‘उहाँले आफूमाथि बलात्कार नभएको बताउनु भएको छ। यसअघि अभियोजनमा भएको बयान पनि आफ्नो नभएको पीडितले बताउनु भएको छ ।’
पीडित र जाहेरवालाले बकपत्रमार्फत् बयान फेरेसँगै पल शाहले सफाइ पाउने सम्भावना बढेको छ । कतिपय मुद्दामा बकपत्र फेरिएसँगै पीडकले सफाइ पाएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले पीडितले बयान फेरे पनि प्रभावित भएर होस्टाइल भएर जाहेरीमा भएको कुरा नै सत्य हो भन्ने लागेमा शाहलाई नै सजाय तोक्न सक्ने पनि बताए । यसअघि यस्ता फैसला पनि आएको उनले बताए ।
‘पीडितले बकपत्र फेरे पनि अदालतले पीडक भनिएकाहरूलाई सजाय तोकेका उदाहरण पनि छन् । तर यस्ता केसमा पीडितले होइन भनेपछि त्यो सम्भावना कम हुन्छ’, उनले भने ।
यसअघि शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुर र तनहुँले मुद्दा दायर गरेका थिए । पल पुर्पक्षका लागि थुनामा छन् । किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।