Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘मेयरको मुख होइन रुख हेरेर भोट दिनुहोस्, हामी काकडभिट्टादेखि दार्चुलासम्म बिजुलीबाट चल्ने रेल चलाउँछौं’

हाम्रो कोशी आवाज
बैशाख १५ २०७९, बिहिबार
‘मेयरको मुख होइन रुख हेरेर भोट दिनुहोस्, हामी काकडभिट्टादेखि दार्चुलासम्म बिजुलीबाट चल्ने रेल चलाउँछौं’

धरानः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
उनले १० वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए । उनले पूर्वको काकडभिट्टादेखि पश्चिमको दार्चुला जिल्लासम्म रेल कुदाएर देशलाई धनी बनाउने सपना बुनेको बताए । उनले दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे ।
काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई विस्थापित गरेर विद्युतिय गाडी बिस्तार गरिने पनि उनको भनाई छ। उनले भने, ‘युवालाई विदेशमा बेचेर होइन। बिजुली बेचेर यो देशलाई धनी बनाउन चाहान्छौँ भन्ने सपनातर्फ नेपाली कांग्रेसले लागिरहेको छ ।’
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस रामेछापको सुनापती गाउँपालिका केन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारहरूको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।
उनले जो–जो व्यक्ति भएको भए पनि रूख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भए पनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए ।
उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरू लागिरहेको पनि जानकारी दिए । ‘नेपाली कांग्रेस पार्टीलाई पुरातनबाट आधुनिक बनाउन जाँदै गर्दाखेरि कांग्रेसले क्रियाशील सदस्यको व्यवस्थापनको विधिलाई, भ्रातृ संस्थाहरूको व्यवस्थापन गर्नुपर्ने र उम्मेदवार चयनको प्रक्रियाको सन्दर्भमा एउटा नविन शैलीलाई निरूपण गर्नुपर्ने, नविन शैलीलाई अख्तियार गर्नुपर्ने अवस्था छ’, उनले भने, ’ हामीले केही अप्ठ्यारो पनि ब्यहोरिरहेका छौँ ।
महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरूलाई सुरक्षा दिँदै मतदान स्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिए । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रुपमा मतदान गर्न मतदातालाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति: बैशाख १५ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend