Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालभित्रै रहेपनि जसले भोट हाल्नै पाउँदैनन्

हाम्रो कोशी आवाज
बैशाख १९ २०७९, सोमबार
नेपालभित्रै रहेपनि जसले भोट हाल्नै पाउँदैनन्

धरानः देशभरका ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनमा कोही नदोरिउन, कोही नछुटुन् भनेर निर्वाचन आयोगले अभियान चलाइरहेको छ ।
तर यो निर्वाचनमा नेपालमै रहेका, मतदाता नामावलीमा नाम रहेका ३ लाखभन्दा बढी मतदाता मताधिकारबाट बञ्चित हुँदैछन् । उनीहरूलाई चाहेर पनि मताधिकार दिन नसकिएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए ।
वैशाख ३० मा हुने स्थानीय निर्वाचन हो । हरेक मतदाताले आफ्नो वडामा पुगेर मतदान गर्नुपर्ने हुन्छ । ३ लाख भन्दा धेरै मतदाता मतदानका लागि वडासम्म पुग्न नसक्ने निर्वाचन आयोगले जनाएको छ ।
यी हुन् स्थानीय तह चुनावमा भाग लिन नपाउने करिब ५ लाख मतदाता
कैदीबन्दी :
देशभरका विभिन्न कारागारमा करिब २६ हजार कैदीबन्दी छन् । उनीहरु अधिकाशंको नाम मतदाता नामावलीमा सुचीकृत छ । यसअघि संविभानसभा निर्वाचन र २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले पनि मतदानको अधिकार प्राप्त गरेका थिए । तर यसपालि स्थानीय निर्वाचनमा उनीहरुले मतदान गर्न पाउने छैनन् । आयोगका सुचनाअधिकार सूर्य रेग्मीले उनीहरुले सम्वन्धित वडामा लगेर मतदानको अधिकार दिलाउन व्यवहारिक रुपमा असम्भव रहेको बताए ।
म्यादी प्रहरी
निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरु १८ वर्ष उमेर पुगेका तर ५० वर्ष उमेर नकटेको हुनुपर्छ । आयोगले एक लाख म्यादी प्रहरीलाई कसैलाई पनि उसको स्थायी ठेगाना रहेको क्षेत्रमा नखटाउने निर्णय गरिसकेको छ ।
त्यसकारण उनीहरु आफ्नो वडामा हुँदैनन् । र निर्वाचनमा मतदान गर्ने अधिकारबाट बञ्चित हुँदैछन् ।
निर्वाचन अधिकृत
आयोगले निर्वाचन सम्पन्न गराउन शिक्षक, कर्मचारीसहित झण्डै एक लाखको हाराहारीमा कर्मचारीहरुलाई खटाउँदैछ । उनीहरु आफ्नो स्थानीय तहभन्दा बाहिर खटिएका हुन्छन् । निर्वाचन सहायक, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकृतलगायतका भूमिकामा कर्मचारीहरू खटिएका हुन्छन् । उनीहरूले पनि मतदान गर्न पाउँदैनन् ।
सुरक्षाकर्मी
निर्वाचन सुरक्षाका लागि सरकारले नेपाली सेनासमेत परिचालन गर्दैछ । सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान गरी चारवटै सुरक्षा निकायलाई निर्वाचनमा परिचालन गर्दैछ । चार वटा सुरक्षा निकायमा करिब २ लाख सुरक्षाकर्मी रहेका छन् । उनीहरूले पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।
अन्य
यसअघि आयोगले ५० बेड भन्दा माथिका अस्पतालमा पनि मतपेटिका राखेर त्यहाँ कार्यरत चिकित्सक तथा कर्मचारीलाई मताधिकार दिएको थियो । तर यस पटक अस्पतालमा खटिने कर्मचारी, चिकित्सक, बिरामीले पनि मतदान गर्न पाउँदैनन् । यस्तै संचारकर्मी, विभिन्न अत्यावश्यक सेवा प्रदायकहरूले पनि मतदानमा भाग लिन पाउँदैनन् । यो संख्या एक लाख भन्दा बढी हुने निर्वाचन आयोगको अनुमान छ ।

प्रकाशित मिति: बैशाख १९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend