धरानः दार्जिलिङको मिरिकमा आफ्नै तागतले बनेको ब्याण्ड फ्रोजन ब्याण्ड नेपालमा सांगीतिक ब्याण्डबीचको प्रतिस्पर्धा रहेको रियालिटी सो ‘द ब्याण्ड च्याम्पियन नेपाल’ को टप ५ मा प्रवेश गरेको छ ।
तथापि प्रतियोगितामा विजयी बन्नका लागि ब्याण्डलाई अधिक भोटको खाँचो रहेको कारण अत्याधिक भोट दिएर विजयी बनाइदिन समाजिक अभियान्ता तथा धरानको मेरिल्याण्ड इङ्लीस स्कुलका भाइस प्रिन्सिपल मनोज राई नाम्दुङले समेत आहवान गरेका छन् ।
‘अहिले ब्याण्ड टप फाइभमा छ’, धरानका राईले भने, ‘टप ४ को लागि भोटिङ सिष्टम चलिरहेको छ, बुधबार बेलुका (भोलि) १२ बजेसम्म भोटिङ खुल्ला रहेको छ, इसेवा साथै ग्लोबल आइएमइ पेबाट पनि भोट गर्न सकिन्छ ।’
रियालिटी शोमा प्रतिस्पर्धाका लागि एक सयभन्दा बढी ब्याण्डले सहभागिताका जनाएका थिए । त्यसमध्ये डिजिटल अडिसनबाट ७० ब्याण्ड छनोट भएका थिए । जज अडिसनमा २६ ब्याण्ड छनोट गरिएको थियो । त्यसमध्ये फ्रोजन अहिलेसम्म अगाडि नै छ ।
ब्याण्ड सदस्यहरू दीप रसाइली, दीप ठोकर, गौरभ लामा, सिद्धार्थ प्रधान, सौरभ सुनारले आफूहरुले जित्ने दावीका साथ लागिरहेको बताएका छन् ।
सोको निर्णायकमा ड्रमर देव राना, गायक तथा गिटारिस्ट ज्योति घिमिरे र हार्ड रक विधाका गायक रविन तामाङ रहेका छन् ।
टप टेनपश्चात् भोटिङ राउण्ड हुन थालेको थियो । भोटिङ राउण्डमा जजको ६० र भोटको ४० प्रतिशत भूमिका रहनेछ । प्रतिस्पर्धामा विजेताले २० लाख रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ६ लाख र तेस्रो तथा चौथो हुनेले ४–४ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

