धरानः निर्वाचन आयोगले असार १ गतेदेखि नामावली दर्ता गर्ने तयारी गरेको छ । गृहजिल्ला बाहिर रहेकालाई पनि जुन जिल्लामा कार्यरत हो त्यहीँ नामावली दर्ता गर्नेगरी व्यवस्था गर्न लागेको जनाइएको छ ।
आयोगका अनुसार उसले सङ्कलन गर्ने मतदाता नामावलीमा नाम दर्ता गराउनैका लागि मतदाताहरू आआफ्नो जिल्ला नै जानुपर्ने झन्झट अब हट्ने भएको छ । यसअघि मतदान गर्नका लागि मात्रै नभई मतदाता नामावलीमा दर्ता हुनका लागि पनि मतदाताहरू साबिककै जिल्ला धाउनुपर्ने बाध्यता थियो ।
अब स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाउने तयारी भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । ‘अब त्यो अवस्थाको अन्त्य हुँदैछ । अस्थायी रूपमा आफू बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिनेछ,’ उनले भने ।
यसरी दर्ता गरिएको नामावलीलाई भने आयोगले आफ्नो प्रणालीमार्फत सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेकै जिल्लामा पठाउने अर्यालको भनाइ छ । आयोगले ७७ वटै जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गर्नेछ । त्यसका लागि आफ्नो नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ ।
यसअघि आयोगले जिल्ला प्रशासन कार्यालयबाट र तोकिएका इलाका प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता गर्दै आएकोमा सोबारेमा भने कसरी जाने निर्णय गरिसकेको छैन ।
‘१ असारबाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको छ अब जिल्लाबाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्नेगरी तयारी गर्दै छ,’ सूचना अधिकारी अर्यालले भने ।