धरानः राई इज किङको नामले समेत लोकप्रिय गायक राजेशपायल राईले लिजेण्ड्री गायक, संगीतकार, रचनाकार तथा कलाकार मुरलीधरको कालजयी गीत ‘तिमीलाई रोजें’ आफ्नो स्वरमा रि–रेकर्ड गरी म्युजिक भिडियोसहित सार्वजनिक गर्ने भएका छन् ।
रेडियो नेपालमा मुरलीधरको आवाजमा समेत लोकप्रिय सो गीतपछि गायक पायलले ‘बैगुनी रैछौ मायालु’ एल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गरेका थिए । पहिलो नेपाल आइडलमा अतिथिको रुपमा आउँदा उनले सो गीत प्रस्तुत गर्दा तानेको लामो आलपले त्यसबेला निक्कै चर्चा पाएको थियो र युट्युब ट्रेन्डिङमा परेको थियो ।
बुधबार गुरुपूर्णिमाको अवसरमा पारी आज लिजेण्ड्री मुरलीधर र गायक राजेशपायल बीच सो गीतलाई पुनः नयाँ साजसज्जाका साथ पुन–रेकर्ड गरी चाँडै रिलिज गरिने आपसी समझदारी भएको छ । राजेशपायलले मुरलिधरसँग नयाँ गीत संगीतको लागि समेत सहकार्य गर्ने भएका छन् ।
‘राजेशपायल नेपाली संगीतको एक दरिलो खम्बा हो उनीसँग मेरो सदैव सहकार्य रहिरहने र हामी दुईको हरेक सांगीतिक सहकार्य नेपाली संगीतका श्रोताहरुको लागि एउटा विशेष उपहार हुनेछ’, गायक तथा संगीतकार मुरलिधरले भने । त्यस्तै, प्रशन्न मुद्रामा गायक राजेशपायल भन्छन्, ‘तिमीलाई रोजे गीत मलाई पनि असाध्यै मन पर्ने गीतहरुमध्ये एक हो र यसको नयाँ भर्सनको लागि मुरलिधरसँगको पुनः सहकार्य भएको छ र मेरा सम्पूर्ण श्रोता तथा दर्शकहरुले यसलाई पहिलाभन्दा अझ मन पराउनु हुनेछ भन्ने मेरो विश्वास छ र त्यो विश्वास कायम राख्न म कतिबद्ध रहनेछु ।’