धरानः खानाको इतिहास हेर्ने हो भने देशकाल, परिस्थितिअनुसार यो निरन्तर परिमार्जित, परिवर्तन, विकास भइरहेको पाइन्छ, ‘कुकिङ’ को वर्णनमा पनि खाना भौगोलिक स्थिति, संस्कृति, आर्थिक स्थिति, समय कालअनुसार फरक फरक हुन्छ वा परिमारजित हुन्छ भनिएको छ ।
धरानमा अहिले धेरै ‘पपुलर’ भएको धराने थुक्पाको इतिहास हेर्ने हो भने आजभन्द ३०–३५ वर्षअघि पुग्नुपर्ने हुन्छ । मैले थाहा पाएदेखि धरान पहाड आउने, जाने मुख्य व्यापारिक नाका थियो, पहाड र मधेशको सङ्गम हुने स्थान धरानमा मधेस र पहाडबाट आउने पाहुनाहरुले र धरानेहरु खाने भनेको मःम, छाउ छाउ (चाउचाउ भन्ने शब्द पछि आएको हो) र थुक्पा थियो । मःम पनि अहिले को जस्तो होइन ठूलो साइजको एक प्लेटमा चारवटा दिइन्थ्यो । थुक्पा पनि अहिलेको जस्तो होइन, तिब्बतियन स्टाइलको मासुको सुपमा दिइन्थ्यो । भिनेगरमा डुबाएको हरियो खोर्सानी र सोया सससँग ।
त्यही समयमा स्ट्रिट फुडको रुपमा मधेशी समुदायका दाजुभाइले बेच्नु हुने चना चटपटे, झालमुरी, आलु भुजा, पानी पुच्का, छोला सिङ्गडा इत्यादि पाइन्थ्यो । आज भन्दा करिब ३०–३२ वर्षअघि नै हुनुपर्छ, भानुचोकको अहिले पहाड जाने बस स्टेण्ड भएको ठाउँमा एकजना पहाडे मूलका दाजुले पनि छोला, सिङ्गडा ठेलामा बेच्नु हुन्थ्यो, वहाँको नाम त मलाइ थाहा छैन, उहाँले छोला, सिङ्गडा, आलु चपसँगसगै मःम र थुक्पा पनि ठेलामा सँगै बेच्नुहुथ्यो ।
उहाँले छोलामा बोइल्ड नुडल्स पनि हालेर दिनुहुन्थ्यो । त्यो समयमा मटरको छोला र थुक्पा मिलाएर दिएको अनौठो नै मानिन्थ्यो, जबसम्म चाखेर हेरिदैनथ्यो, मैले पनि त्यो पनि चाखेर हेरें र त्यसपछि म नियमित ग्राहक बने । मैले थाहा पाएसम्म अहिलेको धराने थुक्पाको जन्मदाता उहाँ नै हो । त्यसपछि यो ‘कम्बिनेशन’ अझ परिमार्जित हुँदै गयो, मटर, चना, आलु , आलुचप, भुजिया, अचार इत्यादि थपिँदै गयो ।
रेष्टुरेण्टहरुले पनि सिको गर्दै गए र धरानमा पपुलर हुँदै गयो । शुरु शुरुमा मटर आलुको सुपमा थुक्पा धरान बजारको रेस्टुरेन्टमा पाइँदैनथ्यो । धरान छेऊ छेऊमा र वरपरको गाउँमा मात्र पाइन्थ्यो, बजारेहरुले एडप्ट गरेको केही वर्षमात्र भएको छ । धरानको अर्को खाना जसलाई परिमार्जित र ब्राण्डिङ गरी विकास गर्न सकिने र ठूला होटेलको मेनुमा राख्न सकिन्छ ।
(लेखकः धरानस्थित युएन, नवोदय कलेजको होटल म्यानेजमेण्ट कोअर्डिनेटर हुन् ।)