धरानः धरान–१६ की कुञ्जना श्रेष्ठ आफ्ना छोरीप्रति चिन्तित छिन् । छोरी जतिखेरै मोबाइलमा झुण्डिन थालेपछि उनलाई चिन्ता थपिएको हो । ‘अहिले त पढाइ सकियो भन्दै फेरि मोबाइलमै झुन्डिन थालेका छन्’, उनी भन्छिन्, ‘धेरै मोबाइल चलाउन हुन्नँ भन्दा एकैछिन त हो नि भन्दै धेरै बेर झुन्डिन थालेका छन् ।’
अहिले धरानमा अधिकांश विद्यार्थीमा मोबाइलको लत नमज्जाले बढिरहेको अभिभावकहरु नै बताउँछन् । चिकित्सकहरु पनि यस कुरामा सहमत छन् । धरान–९ पुतलीलाइनस्थित नमस्ते चश्मा घरमा कार्यरत आँखामा डिग्री हासिल गरेका दृष्टि विशेषज्ञ डा. दिनेशकुमार शाहसँग हाम्रो कोशी आवाजले कुराकानी गर्ने क्रममा उनले पनि विद्यार्थीमा मोबाइलको लत बढ्दै गएको बताउँछन् । ‘गेमको त कुरै छोडौं, मोबाइल मात्रै चलाउनु पनि एक प्रसारको नशा जस्तै बन्नु दुःखद् हो’, उनी भन्छन् ।
आफू पनि मोबाइलमा व्यस्त हुने अनि बालबालिकालाई पनि मोबाइल खेल्न दिने अभिभावकको संख्या बढिरहेको समेत उनी बताउँछन् । उनका अनुसार लगातार मोबाइल हेरिरहदा आँखाको मसल थाक्ने, आँसु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने जस्ता समस्या हुन जान्छ । लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिसनले आँखालाई अन्धो समेत बनाउन सक्छ ।
उनका अनुसार विद्यार्थीमा यो लत छुटाउन पनि सकिन्छ । मोबाइलको लत बसेका बालबालिकालाई एकै पटक सामान्य अवस्थामा फर्काउन भने निकै गाह्रो हुने उनी बताउँछन् । मोबाइलको सट्टा बालबालिकालाई अन्य खेल्ने कुरा किनिदिने, खेलका गतिविधिमा सक्रिय गराउने, कागजबाट आकर्षक हस्तकलाका सामान बनाउने वातावरण मिलाइदिने गर्नाले पनि बालबालिकाको मोबाइलको लत विस्तारै छुट्न सक्ने उनी बताउँछन् ।
अहिले अधिकांश विद्यार्थी मोबाइलको लतमा रहेको र कतिपय बालबालिका मोबाइल नहेरी खाना नै खाँदैनन्, यस्ता बालबालिकाहरुको आँखा जाँच गराइरहनुपर्ने उनी बताउँछन् । उनी वर्षमा एकपटक विद्यार्थीको आँखा जाँच गराइरहनुपर्ने सुझाउँछन् । ‘बालबालिकाले आँखा चिलायो, आँशु आइरह्यो भने भने चिकित्सकलाई देखाइरहनुपर्छ’, उनले थपे, ‘केही नभएपनि वर्षमा एकपटक आँखा जाँच गराइरहनु राम्रो हो ।’
(भिडियोमा कुराकानी)


