Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उडेको १८ मिनेटमा जहाज पोखरामा दुर्घटना

हाम्रो कोशी आवाज
माघ १ २०७९, आइतबार
उडेको १८ मिनेटमा जहाज पोखरामा दुर्घटना

काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न केही मिनेटअघि मात्रै दुर्घटना भएको देखिएको छ।
यती एअरलाइन्सको ‘९एन-एएनसी’ जहाज माघ १ गते बिहान १०ः३२ बजे काठमाडौंबाट उडेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न केही मिनेटअघि बिहान १०ः५० बजे जहाजसँग अन्तिम सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।
काठमाडौंबाट पोखरा उडान २० मिनेटको हुन्छ। काठमाडौंबाट उडेको १८ मिनेटसम्म जहाज सम्पर्कमा थियो। त्यसपछि पोखरा महानगरपालिका-१५ सीताराम पुलनजिक सेती खोचमा दुर्घटना भएको केन्द्रले जनाएको छ।
जहाजमा चार जना चालक दलका सदस्य र ६८ यात्रु सवार थिए। चालक दलका सदस्यमा कमल केसी, अन्जु खतिवडा, सिर्जना होगथुन र ओसिन आले मगर रहेका छन्।  विमान दुर्घटनामा ६५ जनाको शव फेला परेको छ।

यसैबीच सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताए।
‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने। भोलिदेखि सुरु हुने विभिन्न तहका परीक्षा सार्वजनिक बिदाका कारण नरोकिने त्रिभुवन विश्वविद्यालयका रजिष्टार डा. पेशल दाहालले जानकारी दिए ।
उनले सरकारले दिने आकस्मिक सार्वजनिक बिदामा विश्वविद्यालयका पूर्वनिर्धारित कार्यक्रमहरूले निरन्तरता नै पाउने गरेको बताए ।
घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ।
दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको उनले बताए। पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको उनले जानकारी दिए।
यति एयरलाइन्सको नाइन एन एएनसी जहाज आज बिहान १०:५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको थियो।
जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए।
विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।

प्रकाशित मिति: माघ १ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend