विराटनगर: विराटनगरलाई महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक र्याली निकालेको छ। विगत २ वर्ष पहिला प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुरु गरेको यस्तै प्रकृतिको कार्यक्रमलाई तत्कालीन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले असहयोग गरेका थिए । महानगरपालिका सहित प्रदेश सरकारले संयुक्त रूपमा सञ्चालन गर्ने गरी सुरु भएको अभियानमा महानगरले असहयोग गरेको थियो । तर अहिले त्यही खालको कार्यक्रम महानगरपालिकाले सुरु गरेको छ।
वैशाख १ गतेदेखि विराटनगरलाई सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गर्ने भएको छ। त्यसैको अभियानको रूपमा बिहीबार र्याली निकालेको हो । महानगर परिसरबाट सुरु भएको प्रभात फेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रङ्गशालामा पुगेर समापन भएको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यलाई हानी हुने बताए । उनले महानगरले लागू गरेको क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन गरे कानुनीले तोकेको कारबाही हुने प्रजिअ भट्टराईको भनाइ थियो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पहिलो चरणमा अभियानअन्तर्गत ५ स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार विद्यालय, स्वास्थ्य संस्था, महानगर र उससँग सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू, बसपार्क र बसहरूमा सुर्तीजन्य पदार्थ गर्न पाइने छैन ।