धरानः उपचुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन् बलियो बनेको छ । यसअघि संसदमा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अब २१ सिट हुने भएको छ ।
नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएर सभापति रवि लामिछानेको सांसद पद गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टी १९ सिटमा सीमित थियो तर यो उपचुनावमा उसले एक सिट थपेर २१ सिट पुरयाएको छ ।
चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले यसअघिको आफ्नै ’रेकर्ड’ समेत तोडेका छन् । गएको मङ्सिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार तीन सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले ५४ हजार एक सय ७६ मत पाए । उनले अहिले मङ्सिरमा पाएको सर्वाधिक मतको पनि ‘रेकर्ड ब्रेक’ गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक मतान्तरको जित निकाल्दा डाक्टर स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर –१ मा विजय हासिल गरे । वाग्लेले तनहुँ–१ मा लोकप्रिय मानिएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २५ दिनकै प्रयासमा १४ हजार सात सय ९७ मतान्तरले हराए । वाग्लेले ३४ हजार नौ सय १९ मत पाए ।
यसअघि गएको मङ्सिरमा भएको चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल २५ हजार छ सय ६१ मत ल्याएर विजयी हुनुभएकोमा अहिले गोविन्द भट्टराईले २० हजार एक सय २२ मतमात्रै ल्याउनुभयो । चार महिनामा कांग्रेसले तनहुँमा पाँच हजार पाँच सयभन्दा धेरै मत गुमायो ।
यस्तै यसअघिको चुनावमा एमालेका उम्मेदवार एकबहादुर रानाले तनहुँ–१ मा १९ हजार नौ सय ८१ मत ल्याएर दोस्रो स्थानमा रहँदा अहिले एमालेका उम्मेदवार सर्वेन्द्र खनाललले जम्मा आठ हजार चार सय ४८ मतमात्रै ल्याए । तनहुँ–१ मा एमालेले चार महिनामै ११ हजारभन्दा धेरै मत गुमायो । तनहुँमा गएको मङ्सिर ४ गते भएको चुनावमा छ हजार ४४ मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनामै २८ हजारभन्दा धेरै मत थपेको छ ।