Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिकटकले हैरान, बढाउँदै अपराध

हाम्रो कोशी आवाज
बैशाख २७ २०८०, बुधबार
टिकटकले हैरान, बढाउँदै अपराध

धरानः झापाकी शर्मिला (नाम परिवर्तन) लामो समयदेखि भिडिओ सेयरिङ एप टिकटक प्रयोग गर्दै आएकी छन् ।
उनका २ लाख ५० हजार बढी फलोअर्स छन् । २० लाख बढी लाइक पाएकी छन् । नयाँनयाँ ठाउँमा गएर भिडिओ बनाउने तथा भाइरल गीतमा टिकटक भिडिओ बनाउने भएकाले उनको ‘फलोअर्स’ राम्रै छन् ।
भर्खर २२ वर्ष पुगेकी शर्मिलाले डियुल सिस्टम अन गरेकी छन् भने उनका भिडिओ डाउनलोड गर्ने अप्सन पनि अन छ । त्यसै कारण उनी समस्यामा परिन् ।
उनको भिडिओ डाउनलोड गरेर फेक आईडी बनाएर तथानाम लेखेर अपलोड गरिएको छ । उनको लिपसिङमा अर्कैले अपशब्दहरू बोलेर भिडिओ अपलोड गर्ने, भिडिओमा ‘मेरो विवाह भएको छैन यदि कसैलाई विवाह गर्न मन छ भने मलाई फोन गर्नुस्’, ‘म भर्जिन छु, भर्जिन…छ भने तपाईंको फोन नम्बर कमेन्ट गर्नुस् म कल गर्छु ,’ ‘मलाई…. मन लाग्यो फोन नम्बर कमेन्ट गनुस म कल गर्छु’ जस्ता शब्दहरू राखेर भिडिओ राखेका रहेछन् ।
त्यसैकारण शर्मिलालाई आफन्तहरूको गालीसमेत खानु परेको थियो । वास्तविक टिकटक अकाउन्टमा पनि नराम्रा, नराम्रा कमेन्ट आएर हैरान पार्न थालेपछि उनले प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन् ।
यो प्रतिनिधि घटना मात्रै भएको र अहिले सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरूको भिडिओ, फोटोको प्रयोग गरेर अपराध बढेको प्रहरीले बताएको छ । ‘अहिले टिकटकमा अर्कै व्यक्तिको भिडियोमा अपशब्दहरू बोलेर अर्को भिडियो बनाउने समस्याहरू देखिएका छन्,’साइबर ब्युरोमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले न्यूजगृहसँग भने ।
उनका अनुसार टिकटकमा ९० प्रतिशत व्यक्तिहरूले असामाजिक कृयाकलापहरू गरेको देखिएको छ । प्रहरीका अनुसार कुनै व्यक्तिले सञ्चार माध्यममा बोलेको भिडिओ काटेर टिकटकमा अनर्थ लाग्ने गीत र अडिओ राखेर पोष्ट गर्ने देखिएको छ । २ जनाको भिडिओ जोडेर समाजमा अपाच्य शब्दको प्रयोग गर्ने गरेको देखिएको इन्स्पेक्टर खड्गीले बताए ।
टिकटकमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा ब्युरोले २० वैशाखमा चितवनबाट विजय लामा भनिने डम्बरबहादुर तामाङलाई पक्राउ गरेको थियो । टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलतासहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्‍याउने काम गरेको आरोप उनीमाथि छ ।
प्रहरीका अनुसार पछिल्लो समय टिकटकमा लाइभ बसेर विभिन्न अपराध गर्ने गरेको देखिएको छ । साइबर ब्युरोको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मात्रै २ सय ६२ वटा उजुरी परेका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा २ सय ३३ वटा उजुरी परेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा जम्मा ७० वटा उजुरी परेका थिए । यो तथ्याङ्कले पनि टिकटकमा अपराध बढीरहेको देखाउँछ । ब्युरोको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ६ महिनामा फेसबुकमा अपराध गरेको २ हजार ९२७ वटा उजुरी परेको थियो ।
त्यस्तै भाइबर अपराध ४, इमो अपराध १०, युट्युब अपराध २५, ह्वाट्सएप एप अपराध १२२, ट्वीटर अपराध १३, इन्स्टाग्राम अपराध २८०, वेबसाइट ह्याक २२, इमेल ह्याक/अपराध २३, ईसेवाबाट अपराध ७२ र बैंकहरूबाट ठगी ९३ वटा उजुरी परेको छ ।

प्रकाशित मिति: बैशाख २७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend