धरानः पानी परेसँगै मुलुकभर बाढी र पहिरोको जोखिम बढेको छ । यस वर्ष सरदरभन्दा कम पानी पर्ने बताइएको थियो । त्यहीअनुसार मनसुन ढिलो गरी प्रवेश गरे पनि केही दिनदेखि देशभरि वर्षा हुन थालेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेको हो ।
मनसुनी वायुले विगत २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा ५५ मिलिमिटर (मीमी) पानी परेको छ । पोखरामा ४६.३ मीमी, जनकपुर ३७.२ मीमी, दिपायलमा ३३.४ मीमी, धनगढीमा २८.५ मीमी, धनकुटामा २६.० मीमी, विराटनगरमाा २५.५ मीमी पानी परेको छ । काठमाडौंमा ४.७ मीमी पानी परेको छ भने सबैभन्दा कम नेपालगन्जमा १.५ मीमी पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२४ घण्टामा बाढीबाट झापामा एक जनाको मृत्यु र आगलागीबाट धादिङ र हुम्लामा गरी दुई जना घाइते भएका छन् । यसबाहेक विभिन्न जिल्लामा गरी सात स्थानमा पहिरो, चार स्थानमा आगलागी, एकमा बाढी र एक स्थानमा भारी वर्षा सम्बन्धी विपद्का घटना दर्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलले जनाएको छ ।
तर, वैशाख १ देखि असार १४ सम्मको विपद्को तथ्याङ्क हेर्दा पहिरोमा परी १३ को मृत्यु, बाढीमा १०, चट्याङ् लागेर २०, हिमपहिरोमा १२ र आगलागीमा १५ जनाको मृत्यु भएको विपद् पोर्टलले जनाएको छ ।