धरानः मनसुन क्रमिकरुपमा हुँदै जाने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद बिनु महर्जनका अनुसार आज एकदिन मनसुन अलि बढी सक्रिय हुने भएपनि रातिबाटै वर्षा कम हुँदै जाने देखिएको छ । मौसमविद महर्जनले भनिन्, ‘भोलिबाट भने वर्षा कम हुँदै जाने पूर्वानुमान छ ।’
पानी पर्ने क्रम देशैभरी नै विस्तारै कम हुँदै जाने र पानी परे पनि पहाडी भूभागतिर पर्ने सम्भावना रहेको उनको भनाइ छ । अर्का मौसमविद विनोद पोख्रेलका अनुसार हिजो चीनको तिब्बत तिरबाट बादलहरु नेपालतिर सरेकाले मध्य पहाडहरुमा बढी र तराईमा कम वर्षा भएको देखिएको छ । अब केही दिन तराईमा हल्का वर्षाको सम्भावना रहेकाले कृषकहरुलाई असर पर्ने उनले ट्वीटरमा उल्लेख गरेका छन् ।
मनसुनको न्यून चापीय रेखा पनि पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले नेपालमा कम पानी पर्ने पूर्वानुमान गरिएको हो । केही दिन अघिसम्म मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागतिर नजिक सरेकाले धेरै क्षेत्रमा पानी परेको थियो ।
मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाशको क्षेत्रलाई बुझिन्छ । त्यो रेखा उत्तरतर्फ सर्यो भने नेपालमा बढी पानी पर्ने मौसमविदहरु बताउँछन् ।