धरानः पूर्वी पहाड धनकुटा धरानसँग जोडिएर थुप्रै गीत सङ्गीतहरू बनेका छन् र यो क्रम अहिले पनि जारी छ ।
पछिल्ला वर्षहरूमा गीत सङ्गीतले गाउँ घर परिवेशलाई टपक्कै टिप्न नसकेको आरोप लागिरहेको अवस्थामा ग्रामीण परिवेशलाई छुने गरी ‘धनकुटा धरान’ गीत सार्वजनिक भएको छ । ‘धनकुटा धरान, कुन ठाउँमा जन्म हुन्छ नि लैलै कहाँ हुन्छ मरन’ यो गीतले धरानदेखि धनकुटा, सिधुवा, परेवादिन अनि राँकेसम्मलाई समेटेको छ ।
लोक गायक शम्भु राई र गङ्गा गौतमले केही दिन अघिमात्र सार्वजनिक गरेको गीतमा धरान हुँदै धनकुटा काटेपछि परेवादिन हुँदै त्यस परिवेशका कुरालाई गीतले उजागर गरेको छ । सिधुवा बजारदेखि स्कुल पढेका रमाइला क्षण र धनकुटा बजारमा पुगेपछि मात्र बस चढ्दाको अनुभवलाई पनि गीतमा समावेश गरिएको छ ।
‘आमाले हाँडीमा भुटिदिएको मकै पोको पारेर खाँदै विद्यालय गएको दिनलाई सम्झाउने काम गीतले गरेको छ,’ गायिका गौतमले भन्छिन्, ‘राँके मेलामा झरीले चुटेको कुरा पनि गीतमा समावेश छ ।’