Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैं आँगनमै, सर्वसाधारणसँग छैन जीरा–मसला किन्नेसमेत पैसा !

रुषा थापा
असोज २६ २०८०, शुक्रबार
दशैं आँगनमै, सर्वसाधारणसँग छैन जीरा–मसला किन्नेसमेत पैसा !

नेपालीहरुको महान चाड दशैं (२०८०) भित्रिसकेको छ । दशैंमा पैसा धेरै आवश्यकता पर्छ । चाहेँ जिरामसला किन्न होस् या माछामासु किन्न । त्यस्तै, गाउँघर जान, लुगा किन्न तथा टिका लगाइदिएपछि दीक्षणा दिन पनि पैसाकै आवश्यकता पर्छ । दशैं नेपालीको सबैभन्दा ठूलो चाड हो । दशैंमा नै सबैभन्दा बढी खर्च हुन्छ ।
यसपालिको दशैं आँगनमा आइसकेको छ । तर, आफुले सहकारीमा बचत गरेको रकम फिर्ता पाइएको छैन । चाडपर्व नजिकिएसँगै सहकारीहरु पनि बन्द भएका छन् । अधिंकाश सहकारीले अहिलेदेखि नै दशैंभर कार्यालय बन्द हुने भनेर सूचना टाँसेका छन् । यता, कतिपय सहकारीले आधा घण्टा कार्यालय खोलेपनि पैसा फिर्ता गर्दैन ।
सर्वसाधारण चिन्तित छन् । आफुहरुले बचत गरेको रकम फिर्ता नपाएपछि दशैं कसरी मनाउने भनेर उनीहरु अन्योलमा परेका छन् । न गाउँघर फर्किन पैसा छ न यतै दशैं मनाउन पैसा छ । धेरै मानिसहरु यसपालिको दशैं खल्लो हुने बताउँछन् । सहकारीले बचत फिर्ता नगर्दा उनीहरु दशैं मनाउनबाटै वञ्चित हुनुपरेको छ ।
महिनौं दिन सहकारीमा धाउँदा पनि रकम फिर्ता नगरेको उनीहरुको आरोप छ । खातामा त बीस लाख छ नि तर दशैं मनाउन पाँच हजार माग्दा पनि फिर्ता पाइएको छैन । अहिले सहकारीले बचत फिर्ता नगरेको कुरा जताततै सुनिन्छ । जोकोही आफ्नो रकम सहकारीमा फसेको बताउँछन् ।
सहकारीले बचत फिर्ता नगरेपछि सर्वसाधारण जिरामसला किन्ने समेत पैसा नभएको बताउँछन् । माछामासु र नयाँ कपडा किन्न त कुरै छोडौं । मानिससँग पैसा नभएपछि दशैं आएपनि बजारमा चहलपहल छैन । सुनसान छ । सहकारीले बचतकर्ताको रकम खाइदिएर उनीहरुको बिल्लीबाँठ बनाउन पनिसरकार कुनै चासो दिदैँन ।
सरकारले नै सर्वसाधारणलाई डुबाउने काम गरेको छ । सरकारकै मिलेमत्तोमा सहकारीका सञ्चालक र कर्मचारीहरुले बचतकर्ताको रकम लुटेका छन् । अहिले बुढाबुढीहरु आफुहरुको रकम फिर्ता गरिदिनुस् भन्दै सहकारीमै गएर भक्कानिएर रुँदा समेत सहकारीका सञ्चालक र कर्मचारीहरु मतलब गर्दैनन् ।
एकातिर सहकारीले बचत फिर्ता गरेको छैन, अर्कातिर व्यापारव्यवसाय ठप्प छ । मुलुकभर ६५ प्रतिशत सटर खाली भएका छन् । यता, काम गरेको ठाउँमा पनि तलब पाइएको छैन । सरकारी कर्मचारीहरुलाई त सरकारले तलबभत्ता पनि दिन्छ त दशैं पेश्की पनि दिन्छ । तर, सर्वसाधारणले दशैं मनाउनका लागि सापटी माग्दा समेत पाएका छैनन् । उनीहरु गाउँघर नफर्किएपनि यतै कसरी दशैं मनाउने ? भनेर चिन्तित छन् । मानिसहरु वर्षभरि दुःख गर्छन् । अनि दशैंमा नयाँ कपडा किन्छन्, खसी काट्छन् । तर, यसपालाको दशैंमा त्यसको उल्टो भएको छ ।
अहिले सर्वसाधारण जनता दशैंको लागि जिरामसला समेत किन्न सकिरहेका छैनन् । पहिलापहिला दशैंमा एकै व्यक्तिले २० हजारदेखि लाखौं रुपैयाँसम्म खर्च गर्ने गर्थे । अहिलेको दशैंमा भने हजार रुपैयाँ खर्च गर्न पनि सर्वसाधारणसँग पैसा छैन । भएको रकम सबै सहकारीले खाइदिएपछि उनीहरु अन्योलमा परेका छन् ।
अहिले कोठा, फ्रयाल्ट र सटर भाडामा लिएर बस्नेहरु तीन महिनादेखि एक वर्षसम्मको भाडा नतिरेको बताउँछन् । खान नभइरहेको बेलामा कसरी कोठा भाडा तिर्ने भनेर उनीहरु भन्छन् । यस्तो हुँदा पनि सरकार अझै पनि जनतासँग पैसा छ र उनीहरु दशैं मनाउन सक्छन् भनेर बसिरहेको छ ।
सरकारलाई जनताको कुनै पनि समस्या थाहा छैन । पहिलापहिलाको दशैंमा नयाँ गाडी, सुन, कपडा, फ्रिजलगायत सामानहरु किन्ने यत्तिकै हुन्थे । अहिले मानिसहरु च्यातिएको कपडा लगाएर हिँड्छन् तर पेट कसरी भर्ने भन्ने चिन्ता उनीहरुमा छ । यसपालिको दशैं प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलले राम्ररी मान्छन् ।
उनीहरुसँगै सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले पनि राम्ररी नै मनाउने छन् । तर, दशैंको समयमा सर्वसाधारणको घरमा भने चुलो समेत नबल्ले अवस्था आएको छ । अभिभावकहरुले खाजा खान दिएको रकम बालबच्चाले खुत्रुकेमा जम्मा गरे । एक–दुई हजार हुनेबित्तिकै त्यो रकम सहकारीमा राखे ।
सरकारले एक्लो महिला र बुढाबुढीलाई भत्ता दियो । त्यो पैसा पनि उनीहरुले नखाएर भोको पेटमा पोट्का बाँधेर आवश्यकता परेको समयमा काम लाग्छ भनेर सहकारीमा राखे । अहिले सहकारीले रकम फिर्ता नगरेपछि बालबच्चादेखि बुढाबुढीसम्मै निराश छन् । दशैं मनाउनबाट उनीहरु वञ्चित हुनुपर्ने अवस्था आएको छ ।
पछिल्लो समय अधिंकाश सहकारीका सञ्चालक र कर्मचारीहरु फरार भएका छन् । सहकारी सञ्चालन गर्न दिएको घरधनीहरु वर्षो दिनदेखि भाडा नपाएको गुनासो गर्छन् । प्रहरी भन्छ, ‘हामी बचत फिर्ता नगर्ने सहकारीका सञ्चालक खोजिरहेका छौं ।’ यता स्थानीय तहहरु सहकारीको उजुरीको चाङ लागेको बताउँछन् । त्यस्तै, सहकारी विभाग बचत फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई पक्राउ गर्न सीआइबीलाई पत्र लेखेको बताउँछ । अहिले बचतकर्ताहरुको कहिले गाउँपालिका, नगरपालिकामा लाइन देखिन्छ त कहिले प्रहरी चौकीमा ।
त्यस्तै, सहकारी विभागमा पनि उजुरी गर्नेहरुको संख्या बढ्दो छ । अहिले जनता भन्छन्, ‘सहकारी सञ्चालक र कर्मचारीहरु ठग, चोर हुन् । तर, त्यस्तालाई नै सरकार समात्दैन ।’ मुलुकभर दर्ता भएकामध्ये ९० प्रतिशत सहकारी बन्द भएका छन् । उनीहरुले घरबाहिर त बोर्ड झुण्डाएका छन् तर भित्र ढोकामा ताल्चा लगाइएको छ ।
सञ्चालनमा रहेका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गरेको छैन । सहकारीका सञ्चालक र कर्मचारीहरुको एउटै बहाना हुन्छ, घरजग्गा, गाडी र सेयरमा हाम्रो रकम फस्यो । बजारमा एक वर्ष भयो घरजग्गा, गाडी र सेयरमा मन्दी आएको छ । यो मन्दी कति वर्षसम्म जान्छ भनेर कसैलाई थाहा छैन ।
बजारमा घरजग्गा, गाडी र सेयर बेच्न चाहनेहरु यत्तिकै भेटिन्छन् तर किन्ने कोही छैन । यसको मूल्यमा भारी गिरावट आएको छ । अर्थविद् र विज्ञका भनाईअनुसार अब घरजग्गा, गाडी र सेयरको मूल्य बढ्ने छैन । अहिले बजारमा सुनिन्छ कि दशैंपछि धेरै व्यापारी तथा व्यवसायीहरु पलायन हुनेछन् ।
बेरोजगारीको संख्या झन् बढ्ने छ । कामको अभावका कारण अहिले नै मानिसहरुको अपराधिक क्रियाकलापमा संलग्न बढ्दो छ । दशैंपछि यसले झन् कस्तो रुप लिने हो भनेर आम नागरिक अहिले चिन्तित छन् । महंगी, बेरोजगारीका कारण अहिले अधिंकाश मानिस गाउँघर फर्किनुपर्ने अवस्था निम्तिएको बताउँछन् ।
अहिले जताततै कोठा, फ्रल्याट र सटर खाली छन् । बाटोमा हिँड्दा कोठा खाली छ, सटर खाली छ वा टुलेट लेखिएका पोस्टरहरु यत्तिकै भेटिन्छन् । अहिले नै कतिपय मानिसले भाडा तिर्न नसकेर सामान घरधनीलाई छोडेर हिँडेका छन् भने कतिपय घरधनीले भाडा तिर्न नसकेपछि सामान नलिई घर खाली गर्न आग्रह गर्दै आइरहेका छन् ।
दुई वर्षअघि यो बेला व्यापारीहरुलाई सामान बेचेर भ्याईनभ्याई हुन्थ्यो । पसलमा सामान किन्नेहरुको भीड हुन्थ्यो । तर, अहिले त दशैं आउन एघार दिन बाँकी हुँदा समेत पसलमा एक जना ग्राहक नछिर्ने तथा बहनी समेत नहुने बताउँछन् । मानिससँग पैसा भए त सामान किन्छन् नि । पैसा जति सबै सहकारीले खाइदिएपछि बजारमा मन्दी छाएको छ । व्यापारव्यवसाय ठप्प छ । अहिले मानिसहरुलाई सामान त आवश्यकता छ तर पैसा छैन ।
सहकारीको बचतकर्ताको बिजोग बनाउँदा समेत सहकारीमन्त्री रन्जिता श्रेष्ठले बचत फिर्ता नगर्ने सहकारीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरी बचतकर्ताको रकम फिर्ता गर्नतिर चासो दिएकी छैनन् । अहिले पनि बाँठाटाँठा सहकारीका सञ्चालक तथा कर्मचारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि विभिन्न आश्वासन देखाएर रकम जम्मा गर्न बाध्य बनाइरहेका छन् ।
यसपालिको दशैं करोडौं जनताको खल्लो हुने भएको छ । जनता दशैं मनाउन नसक्ने अवस्थामा पुगेका छन् । उनीहरुको आँखा रसाउने भएको छ । त्यसैले, अब बचतकर्ताले पनि बचत फिर्ता नगर्ने सहकारीका सञ्चालक र कर्मचारीलाई जहाँ भेट्यो त्यति समातेर प्रहरी कहाँ बुझाउनुपर्छ । अब सहकारीमा आफु पनि बचत नगरौं, अरुलाई पनि बचत गर्न नदिऔं । आफुसँगै आफ्नालाई पनि डुब्नबाट जोगाउनुपर्छ ।

प्रकाशित मिति: असोज २६ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend