Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सहकारीले कहिलेसम्म झुलाउने ?

अनुषा थापा
माघ १६ २०८०, मंगलबार
सहकारीले कहिलेसम्म झुलाउने ?

सहकारीले बचत फिर्ता नगरेपछि पीडितहरुलाई सहकारी विभाग धाउँदै ठिक्क भएको छ । मिनभवनस्थित विभागको कार्यालयमा बचतकर्ताको भीड लागिसकेको थियो । दुई सय बढी बचतकर्ता आफ्नो बचत फिर्ता दिलाइदिन माग गर्दै विभाग पुगेका थिए ।
त्यसमा कान्तिपुर सहकारीसहित अन्य थुप्रै सहकारीका बचतकर्ता थिए । भीड धेरै भएपछि विभागको सुरक्षा गार्डले सुरक्षाकर्मीलाई पनि बोलाएका थिए । कोही डिजीको रुममा थिए त कोही बाहिर बसिरहेका थिए । सबै बचतकर्ताको एउटै गुनासो थियोः विभागले सहकारीका सञ्चालकलाई समात्न सीआईबीलाई पत्र लेखेन् ।
विभागले बचतकर्ताका निम्ति काम नगरेको भन्दै उनीहरु दुःखेसो पोख्दै थिए । उनीहरु रजिष्ट्रार पिताम्बर घिमिरेप्रति आक्रोशित हुँदै भनिरहेका थिए,‘रजिष्ट्रारले हाम्रो सहकारीलाई समस्याग्रस्त घोषणा पनि गरेनन् । सञ्चालकलाई समात्न सीआईबीलाई पत्र पनि लेखेनन् । हामी त साह्रै मर्कामा पर्यौं ।’
उनले आफूहरुको पैसा उठाउनलाई चासो नदिएको पीडितहरुको गुनासो थियो । त्यहाँका सुरक्षा गार्डका अनुसार कार्यालय नखुल्दै पीडितहरु आउने गरेका छन् । बिहान कार्यालय खुलेदेखि बन्द भएसम्म त्यतिकै भीड भइरहने उनको भनाइ छ । कहिलेकाँही भीड थेग्न नसकेर सुरक्षाकर्मी नै बोलाउनुपर्ने अवस्था आउने उनले बताए । सहकारी विभागमा सँधै नै भीड हुने कर्मचारीहरु बताउँछन् । बाहिरका पसलेसँग बुझ्दा पनि सोही जवाफ पाइन्छ ।
भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अहिलेसम्म सहकारीको समस्या समाधान गर्न पहल गरेको छैन् । न सहकारीमा बचत नगर्नुस् भनेर सूचना जारी गर्छ न सहकारी खारेज नै गर्छ मन्त्रालय । बस् पीडितहरुलाई अल्मलाउने र झुल्याउने काम मात्र भइरहेको छ ।
मन्त्रालयले सहकारी सञ्चालकहरुको पक्षमा काम गरिरहेको छ । विभागमा जहिलेपनि पीडितहरुको भीड हुन्छ । सहकारी पीडित कति छन् ? भन्ने कुरा त्यो मासबाट छर्लङ्ग हुन्छ  । हुने(नहुने सबैलाई सहकारीले सिद्धयाएको छ । पीडितहरुको उठीबास लागेको छ । तैपनि सरकारलाई मतलब छैन् ।
मन्त्रालयले सहकारी सञ्चालकलाई बचाउन खोजेको स्पष्ट भइसकेको छ । अब सहकारी चल्दैन् भन्ने कुरा प्रष्टै छ । तैपनि सहकारीको दर्ता खारेजमा मन्त्रालयले चासो देखाउँदैन् । सहकारी क्षेत्रमा समस्या देखिएको दुई वर्ष बितिसकेको छ । साग बेच्नेदेखि सडकमा मकै पोल्नेसम्मको पैसा सहकारीले खाइदिएको छ ।
सहकारी आम सर्वसाधारण ठग्ने अखडा बनेको छ । यद्यपि, सरकार टुलुटुल रमिता हेरेर बसेको छ । आफ्नो कामधन्दा छोडेर बचतकर्ताहरु विभाग धाइरहेका छन् । एकातिर सहकारीले पैसा खाइदिएको पीडा छ अर्कोतिर कामधन्दा छोडेर विभागको चक्कर लगाउनु उनीहरुको दिनचर्या बनेको छ । केही दिनअघिको कुरा हो, एक जना व्यक्ति अन्तर्राष्ट्रिय भवनअगाडि भुँइमै सुतेका थिए । रामेछाप घर भएका उनी भन्दै थिए,‘सहकारीले मेरो २३ लाख रुपैयाँ खाइदियो । मलाई परिवारले घर निकाला गरिदियो । म कहाँ जाऊँ ।’ सहकारी भागेपछि धेरैको घर व्यवहार बिग्रिएको छ ।
तनाव सहन नसकेर आत्महत्या गरेको घटना पनि घटेको छ । सहकारीकै कारणले हार्टअट्याक भएर मृत्यु भएका खबरहरु पनि बाहिरिएका छन् । बचतकर्ताहरुले आफ्नो व्यथा लिएर सबैतिर पुगिसकेका छन् । स्थानीय पालिकादेखि प्रहरी चौकीसम्म उनीहरुले आफ्नो गुनासो सुनाइसकेका छन् ।
सिडियो कार्यालय जाँदा सिडियोले मतलब गर्दैनन् । सहकारी विभाग र मन्त्रालय सञ्चालकको पक्षमा छ । तैपनि बचतकर्ताहरुले हरेश खाएका छन् । सहकारी सञ्चालकहरु सबै पार्टीका कार्यकर्ता छन् । त्यसैले पनि सरकारले उनीहरुलाई नछोएको हो । पार्टीको झोला बोकेर बचतकर्ताको बिचल्ली बनाउनेलाई सरकारले नै छुट दिइरहेको छ । सहकारीले ठगेको कुरा अहिले छ्याप्छ्याप्ती बाहिर आइरहेको छ । सहकारी पीडितहरुले यसअघि महिनौं आन्दोलन पनि गरे । तर, कुनै राजनीतिक दलले चुइक्क आवाज निकालेका छैनन् । भक्तपुरका धेरै सहकारी भागिसकेका छन् । तैपनि, नेपाल मजदुर किसान पार्टीले आवाज उठाएको छैन् । मुलुकभरका सहकारीमा बचतकर्ताको झण्डै ३६ खर्ब रुपैयाँ डुबेको छ । साँवाब्याज गरेर त्यत्रो पैसा डुबेको सहकारी सञ्चालकहरु बताउँछन् । सहकारीहरु त भागिहाले, अब बचतकर्ताको बचतको जिम्मा कसले लिने ? राजनीतिक दलले पनि लिनुपर्छ । उनीहरुले आफ्ना कार्यकर्ता भनेर लुट्नलाई छुट दिँदा बचतकर्ताहरुको निद्रा र भोक हराएको छ ।
पत्रकार भएर न्यूज २४ मा कार्यक्रम चलाउँदा रवि लामिछाने उफ्रीउफ्री कराउथें । उनी त्यसकै आडमा राजनीतिमा प्रवेश गरे । उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा २१ सिट पायो । पुराना पार्टीले केही गरेन् भनेर जनताले नयाँलाई रोजें, नयाँले पनि केही उखालेका भने होइनन् ।
अहिले लामिछानेकै नाम विभिन्न सहकारीसँग जोडेर समाचारहरु बाहिर आइरहेको छ । टिभीमा हुँदा अर्काको खोइरो खन्ने लामिछाने सहकारी चार्लमचुलुम्म डुब्दा पनि बोलेका थिएनन् । अहिले आएर उनी नबोल्नुको कारण स्पष्ट भइसकेको छ । अब जनताले कुनचाँहि पार्टीलाई विश्वास गर्ने ?
नयाँ-पुराना सबैको सिद्धान्त एउटै छ, देश खोक्रो बनाउने, जनता लुट्ने अनि आफ्नो धोक्रो भर्ने । सहकारीले विभिन्न नाटक गरेर सर्वसाधारणबाट पैसा असुल्यो । ब्याजको लोभ देखाउने, सम्मान गर्ने, जन्मदिनमा केक दिने, बुद्धलाई लौरो दिने, वनभोज लैजानेलगायतका कार्य गरेर सहकारीले पैसा ल्यायो । उपहार दिएकै भरमा सहकारीले सबैको पैसा खाइदियो । सहकारीले २२ प्रतिशतसम्म ब्याजको लोभ देखायो । ब्याजको लोभमा पैसा राख्दा धेरैको साँवा नै गुम्यो । अहिले न जग्गा छ न घर । जिन्दगीभर मेहिनेत गरेर कमाएको पैसा सहकारीले खाइदियो । कतिपयले जग्गा बेचेर सहकारीमा पैसा राखें । कतिपयले जागिरबाट आएको पैसा सहकारीमा बचत गरें । जग्गा पनि गयो, पैसा पनि गयोको अवस्था बनेको छ बचतकर्ताको । बजारमा बुझ्दा सबै सहकारी बन्द भइसकेको छ । बाहिर बोर्ड झुण्डाएको छ, भित्र ताल्चा लगाएको छ । घरधनीहरुले वर्षौंदेखि भाडा पाएका छन् ।
घर खाली गर्नका लागि उनीहरु वडा र नगरपालिका धाइरहेका छन् । एकातिर पैसा पाएको छैन् अर्कोतिर घरमा बचतकर्ता हुलका हुल आउँछन् । घर तोडफोड गरिदिने होकि भन्ने त्रास घरधनीहरुलाई छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बचतकर्ताको पैसा फिर्ता गर्ने र सहकारी सञ्चालकहरुलाई कारबाही गर्छु भन्दै ठूल्ठूला भाषण गरेका थिए ।
उनले गत वैशाख २६ गते एउटा कमिटी गठन गरे । सहकारी पीडितहरु माइतीघर मण्डलामा ६२ दिन अनशन बसें । गत साउन १८ गते सहकारी पीडित र भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठबीच सात बुँदे सम्झौता भयो । भदौ २५ गते कमिटीले प्रधानमन्त्री र भूमि सुधारमन्त्रीलाई प्रतिवेदन बुझायो ।
कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले २०८० चैत मसान्तभित्र बचतकर्ताको पैसा फिर्ता गरिसक्नुपर्ने निर्णय गर्यो । त्यो राजपत्रमा निक्लियो । सहकारी सञ्चालकहरु भागिसकें, कसले पैसा फिर्ता गर्छ ? कार्यालय खुला भएकाहरुले पनि पैसा फिर्ता गर्दैनन् । सरकार अझैपनि हेर र पर्खको अवस्थामा छ ।
शिवशिखर र देउराली सहकारीको सञ्चालकलाई सीआईबीले समात्यो । अनुसन्धानको क्रममा उनीहरुले सबै कर्जा लगानी घरजग्गा र सेयरमा भएको पाइयो । अहिले घरजग्गा कारोबारमा मन्दी छ । सेयर बेच्ने यत्तिकै छन् । अब सहकारीले कहाँबाट ल्याएर पैसा फिर्ता गर्छ ? बचतकर्तालाई झुल्याउने कार्य सरकारबाट भइरहेको छ, यो बन्द गरौं । सहकारीले दिएको पीडा एकातिर, सरकारले दिएको पीडा अर्कोतिर । अब त ‘एक्सन’ मा जाऊँ सरकार !

प्रकाशित मिति: माघ १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ५ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ५ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend