Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पढाउने नाममा सडाउने खेल !

हाम्रो कोशी आवाज
माघ २९ २०८०, सोमबार
पढाउने नाममा सडाउने खेल !

-दिनेश के.सी.
बालमैत्री भनेको बालबालिकाको रुची चाहना र भावनाको सम्मान हुनु हो । जहाँ बालबालिकालाई सम्मान मिल्छ त्यहाँ सिर्जनाको फूल फुल्छ । ज्ञानको ढोका खुल्छ । सम्पन्नताको पोका खुल्छ ।
बालमैत्रीको जग सन् १९९० मा सबैका लागि शिक्षा अभियानबाट उठेको हो । जग त हालियो हामी कहाँ । घर राम्रो बनाइएनछ । घर राम्रो हुन सिकर्मी, डकर्मी र कामदार सबै सक्षम हुनुपर्छ । ती भनेकै हाम्रो समाज र यस भित्रका अङ्ग हुन् । समाजकै एक अङ्ग हो विद्यालय । त्यसैले त जोन डिबेले विद्यालयलाई सानो समाज माने । भिगोत्स्कीले सिकाइलाई सामाजिक अनुकरण ठाने ।
बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ ले बालमैत्री वातावरण बनाउन खोजेको त हो । नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिका सम्बन्धी हकको व्यवस्था भएकै हो ।
… प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ भनेर त्यहाँ लेखियो ।
यति राम्रो कुरा अटे पनि र जति नै बालमैत्री रटे पनि हामीले अटेर गर्यौँ । बोतल बदलेर केही भएन । हामी एक्स्पाएर भएको जुस बन्यौँ । त्यो खाएकाले होला पेट मात्र ठुस्स पारेको छ । आदर्श कुराले मात्र राज्य चल्दैन । राज्य चल्न त प्लेटोको आदर्श समाज चाहिन्छ । हाम्रा ऐन र कानुनले पनि बालमैत्री विद्यालय र बालमैत्री समाजको व्यवस्था गरेको हैन र ? तर हाम्रो अवस्था किन सुध्रन सकेन ? हो हामीसँग इच्छा शक्ति भएन । अनि पो हामी आज बालेन र हर्क साङपाङमा देश खोज्न पुगेका छौँ । देश त हामीसँग नै छ नि । परिवेश पो हामीसँग भएन । अनि हामी नेपालको कानुन दैव जानुन भनेर बस्नु पर्ने किन ? यो बाध्यता जबसम्म परिवर्तन गर्न सकिँदैन तबसम्म परिवर्तनको अनुभव हुँदैन ।
बालबालिका सिर्जनाको स्रोत हुन् । हुवार्ड गार्डनरले भने जस्तै उससँग बहु बौद्धिकताको क्षमता छ । बालमैत्री समाजले ती क्षमताको कदर गर्नु पर्दैन र ? पढ्नेले त पढेर सिक्लान् । खेल्नेले खेलेर सिक्न पाउनु पर्छ नि । गाउनेले गाएर सिक्न पाउनुपर्छ नि । तिनलाई कुटेर पिटेर तह लगाउन खोज्नु तिनको भविष्यमा आगो लगाउनु हो । बालबालिका भनेको कुमालेको काँचो माटो हो जसलाई बनाउने जिम्मा विद्यालय, समाज र राष्ट्रको हुन्छ । कानुन बनाएर मात्र हुँदैन । कानुन बिक्नु पर्छ । कानुन टिक्नुपर्छ । हाम्रो परिवार, समाज र विद्यालयले पढाउने नाममा सडाउने खेल खेलेको छ । घोकाउने नाममा लौराले ठोकाउने खेल खेलेको छ । यस्तो सोच त २० वर्ष अगाडि पनि थियो नि । २१ औँ शताब्दीमा पनि यही खेल खेलेर होला र ? कहिल्यै बालबालिकाले के चाहन्छन् भनेर घर र विद्यालयमा सोधियो र ? मनोविज्ञानको आँखाबाट हेरिएन नि ।
साँच्चै समाजले मायाले हेरेको दिन बालबालिका कति खुसी होलान् । यही खुसी खोज्न भनेर उनीहरू कुलतमा लागे । घरबाट भागे । यसरी बालबालिकालाई हामीले आदेश दिने अभिभावक दियौँ । आदेश मान्ने अभिभावक दिएनौँ । बालबालिकाको भावनामा हामीले मजाले खेल्यौं । त्यसरी खेल्नु अपराध हो । कानुन बोक्ने हामीले कानुनको आँखामा पट्टी बाँधिएको छ भनेर हाम्रो मन र राम्रो मन पटक्कै दिएनौँ ।
एकपटक सोचेर हेरौँ ! बालमैत्री समाज बनाउन के गर्न सकिएला त ? बालमैत्री बनाउन माया र स्नेहको पोका दिनुहोस् । गल्ती गर्यो भनेर दण्ड र धोका नदिनुहोस् । गल्ती गरेरै सिकिने हो । कृपया बालबालिकाको जिज्ञासा मेटाइदिनुहोस् । शिष्ट भाषामा व्यवहार सिकाइदिनुहोस् । खेल्न चाहे खेल्न दिनुहोस् । बोल्न चाहे बोल्न दिनुहोस् । तिनको स्वास्थ्य र पोषणको ख्याल गर्नुहोस् । कृपया बालश्रम शोषण चाहिँ नगरिदिनुहोस् । ठुलालाई चैन र सानालाई ऐन बनेको हाम्रो परिवेशमा बालमैत्री शासन फलामको चिउरा बनेको छ । बनाउन मिल्ला, चपाउन मिल्दैन । अब चपाउने चिउरा बनाउनु छ यहाँ । बालमैत्रीको सुवास फैलाउनु छ यहाँ । सरकारदेखि समाजसम्म अभियान जगाउनु छ यहाँ ।
बालमैत्री वातावरणमा बाँच्न, हाँस्न र नाच्न त समाजको परम्परागत चिन्तन धुजा धुजा बन्नुपर्छ । बालबालिका के चाहन्छन् त्यसको सम्मान हुनुपर्छ । बुबाआमाको रहरले मात्र बालबालिकाले पढ्न सक्दैन । उसले पढ्न आफैँ लाग्नुपर्छ । उसको मनमा पढौँ पढौँ भन्ने भावना जाग्नुपर्छ । त्यो वातावरण चाहिँ हाम्रो समाज र राज्यले बनाइदिनु पर्दैन र ? बालबालिकालाई भाँडा मात्र मझाएर खुसी हुने हाम्रो समाजले उनीहरुको चाहनालाई बुझ्नु पर्दैन र ? बालबालिकाको आवाजको सम्बोधन गरिनु पर्दैन र ? दण्ड र रिसले होइन भावनात्मक सम्मानले बालबालिका प्रगतिमा लाग्छन् । अनि मात्र उसले टुप्पोमा फलेको सुन्तला चाख्छ । उसले रुख आफैँ चढ्न सिक्छ । दुःखमा आफैं बढ्न सिक्छ । तब पो समाजमा बिक्छ । यसर्थ तपाईंहरू बालबालिकाको मनलाई छोएर हेर्नुहोस् त । उनीहरुको मुटुको धुकधुकी बन्नुहोस् त । तपाईं आफैँ बालक हुँदाको अनुभूति गर्नुहोस् त । तब पो देश देश बन्छ । जीवन जीवन बन्छ ।
तसर्थ बालमैत्री स्थापना गर्न समाज र राष्ट्र नै जाग्नुपर्छ । बालबालिकालाई निराशाबाट बचाउनु पर्छ । सिकारूको चाहना फुल्नुपर्छ । अनि पो बालमैत्रीको आकाश खुल्छ । दुबो रोपेर साग टिप्न सकिन्न । साग टिप्न त सागकै बिउ छर्नुपर्छ नि । बालबालिकाको जीवनलाई काँचो अण्डा सम्झेर नफुटाइदिनुहोस् । त्यसबाट निस्कने नयाँ जीवन बोकेको चल्ला बन्न दिनुहोस् । यसका लागि घरमा समाजमा सल्लाह गर्नुहोस् । जय बालमैत्री समाज ! जय बालमैत्री नेपाल !

प्रकाशित मिति: माघ २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend