माघशुक्ल पञ्चमीलाई श्रीपञ्चमी भनिन्छ । यसै दिनलाई सरस्वती जयन्ती भनिन्छ । यसै दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । यस दिन रति र कामदेवको पूजा गरिन्छ । यस दिन सरस्वती जयन्ती भएकाले विशेषगरी सरस्वती पूजा, उपासना गर्ने विधान छ । सरस्वती भनेकी विद्याकी अधिष्ठात्री देवता हुन् । सरस्वतीको पूजा गर्दा विद्या अर्थात् ज्ञान प्राप्त हुन्छ । विद्याकी अधिष्ठात्री सरस्वती माताको पूजा गर्दा सर्वप्रथम ध्यान गरी उहाँको यसप्रकार प्रार्थना गर्नुपर्दछ ।
सरस्वी मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसयुक्ता विद्यादानं करोतु मे ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता,
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रहृमाच्युतशङ्कर प्रभृतिभिर्देवैःसदा वन्दिता,
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
अर्थात् सरस्वती माता कुन्द पुष्प जस्तै सेतो वर्ण भएकी, चन्द्रमा जस्तै, हिउँ जस्तै र हार अर्थात् मोतीको माला जस्तै सेतो वर्ण भएकी हुनुहुन्छ । जसले सेतो र सफा वस्त्र धारण गर्नुभएको छ । जसका हातमा वीणा, दण्ड र पुतस्तक शोभायमान भएका छन् । जो सेतो कमलका आसनमा बस्नुभएको छ । जसको वाहन हाँस छ । जसलाई ब्रहृमा, विष्णु र शङ्कर आदि सम्पूर्ण देवताहरू सधैं उपासना गर्दछन्, अभिवादन गर्दछन् । ती ऐश्वर्य सम्पन्न सरस्वती माताले मेरो जडता अर्थात् अज्ञानलाई नाश गरी विद्या अर्थात् ज्ञान प्रदान गर्दै मेरो सदा सर्वदा रक्षा गरुन् । यसरी ध्यान र प्रार्थना गरी वस्त्र, सौभाग्य, द्रव्य, चन्दन, अक्षता, फूलपाती, सिन्दूर, अबीर, आदि पूजाका सामग्रीले पूजा गरी धूप, बत्ती, नैवेद्य, नरिवल, सुपारी फलफूल र भेटीघाटी अर्पण गरी नीराजन अर्थात् आरती गरेर पुष्पाञ्जलि समेत गरी बडो श्रद्धा एवं भक्तिसाथ पूजा आराधना गर्नुपर्दछ । यसरी श्रद्धासाथ गरेको सरस्वतीको उपासनाबाट असल विद्या प्राप्त गर्न सकिन्छ ।
विद्या भनेको ज्ञान हो । ज्ञानले मानिसका भित्री आँखा खुलाइदिन्छ । विद्या ददाति विनयं विनयाद् याति पात्रताम् । पत्रत्वाद् धनमाप्नोति धनाद् धर्मं ततः सुखम् ।। पञ्चतन्त्र ।
अर्थात् विद्याले विनय वा नम्रता प्रदान गर्दछ । विनयबाट सत्पात्रता आउँछ, अर्थात् विनयी वा नम्र मानिसलाई सबैले असल मानिस भन्दछन् र सम्मान गर्दछन् । सत्पात्र भएपछि सात्विक धन अर्थात् शुद्ध धन ऐश्वर्य प्राप्त हुन्छ । शुद्ध धनबाट धर्म कार्य हुन्छ । अनि धर्मबाट सुख प्राप्त हुन्छ ।
न चौरहार्यं न च राजहार्यं नभ्रातृभाज्यं न च भारकारि । व्यये कृते वर्धत एव नित्यं, विद्याधनं सर्वधनप्रधानम् ।। अर्थात् विद्या यस्तो धन हो, जसलाई चोरले पनि चोर्न सक्तैन, राजाले पनि हरण गर्न सक्तैनन्, दाजुभाइमा अंशवण्डा पनि गर्नुपर्दैन, साथमा बोक्ता गह्रौं भारी पनि हुँदैन । अरू धन जति खर्च ग¥यो उति घट्छ, तर विद्यारूपी धन यस्तो छ कि, जति खर्च गर्यो उति नै बढ्छ, घट्तैन ।
स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते । अर्थात् राजा आफ्ना देशमा मात्र पूजित हुन्छन्, भने विद्या पढेका मानिसलाई विद्वान् भनिन्छ । विद्वान् मानिसको जहाँ पनि पूजा गरिन्छ, सम्मान गरिन्छ ।
‘विद्यानाम नरस्य रूपमधिकं प्रच्छन्नगुप्तं धनम्,
विद्याभोगकरी यशःसुखकरी विद्या गुरुणां गुरुः ।
विद्या बन्धुजनो विदेशगमने विद्या परा देवता,
विद्या राजसु पूज्यते न हि धनं विद्याविहीनः पशुः ।।’
अर्थात् मनुष्य रूपमा जस्तोसुकै नराम्रो छ भनेपनि यदि विद्या पढेको छ भने त्यो मानिस सुन्दर ठहरिन्छ । विद्या लुकेर सुरक्षित रहेको धन हो । विद्या पढेका मानिसले राम्रो सुख भोग गर्न पाउँछ । विद्या पढेका मानिसको यश कीर्ति फैलिन्छ । विद्या गुरुको पनि गुरु हो । विदेशमा जाँदा विद्याले नै बन्धु जस्तो भएर सहयोग गर्दछ । विद्या भनेको परम देवता स्वरूप हुन्छ । विद्या पढेको मानिस राजदरबारमा पनि पूजित हुन्छ । तर धनी मानिस सबै ठाउँमा पूजित हुँदैन । जसले विद्या पढेको छैन भने त्यो मानिस अज्ञानी र मूर्ख हुन्छ । त्यसलाई सबैले पशु जस्तै ठान्दछन् । त्यसकारण यस्तो उत्तम विद्या दिने सरस्वती माताको यस दिन पूजा आराधना गरेर उत्तम सम्पत्तिरूप विद्या आर्जन गर्नु मनुष्यको कर्तव्य हुन्छ । यस दिन सरस्वतीको पूजासहित साना सना बाल बालिकाहरूलाई अक्षरारारम्भ गराई पढाउने पनि परम्परा छ । यस दिनदेखि हिउँदको चिसो घट्न सुरु गर्दछ र वसन्त ऋतु आगमन हुने संकेत देखिने हुँदा वसन्तोत्सव गर्ने विधान छ । यस दिनदेखि वर्षा लाग्छ, भन्ने पनि चलन छ । ॐ श्रीसरस्वत्यै नमः।
आज सरस्वती पूजा
वार्षिक चक्र अनुसार बर्षभर नै विभिन्न चाडपर्व आउने गर्छ । यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन, खास अर्थ पनि राख्छ । कुनै न कुनै पर्व मनाउनुको पछाडि त्यसको सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ । सरस्वती पूजा । यसलाई हामी ‘श्रीपञ्चमी’ भन्छौं । श्री अर्थात् शुभारम्भ , पूर्वीय मान्यता अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन । त्यसैले त, यस दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । अर्थात अक्षराम्भको उपयुक्त अवसर मानिन्छ ।
किन मनाउने ?
हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा मनाइन्छ । लक्ष्मी, दुर्गा र सरस्वती । लक्ष्मी धनकी देवी । दुर्गा शक्तिकी । सरस्वती विद्याकी । वास्तवमा यी प्रतिकात्मक देवी हुन् । अर्थात जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति । आज विद्याकी देवीको पूजा गरिने दिन । विद्यारज्ञानरशिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ । संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ । आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ । त्यसैगरी आजको दिनलाई बौद्ध धर्ममा पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्ने गरिन्छ ।
कसरी पूजा गर्ने ?
यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइ पूजा गरिन्छ । -पं. मणिराज भट्टराई