धरानः डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको व्यवस्थापनमा सम्पन्न तेस्रो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङकपको उपाधि सियोन स्कुलले चुमेको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यमा भएको फाइनल खेलमा सियोन स्कुलले प्रभात इङलिस बोडिङ स्कुललाई ३३–१७ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन । प्रतिश्पर्धात्मक भएको फाइनल खेलको प्रत्येक क्वाटरमा सियोन र प्रभात स्कुलले ४–२, ७–४, ६–६ र ५–१६ अंक जोडेका थिए । फाइनल खेलमा सियोन स्कुलका प्रसाङ्ग चौधरीले व्यक्तिगत १० अंक जोडेका थिए भने प्रभात स्कुलका लियोन राईले समेत व्यक्तिगत १० अंक जोडेका थिए ।
सियोन स्कुलले उपाधिसँगै नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता प्रभात स्कुलले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको मोस्ट भ्यालुएवलल प्लेयरको उपाधि र हाइ स्कोरर उपाधि सियोन स्कुलका संयोक राई घोषित भए । संयोकले नगद एक हजार, ट्रफी, प्रमाणपत्र र नेपाल पत्रकार महासंघ अध्यक्षद्वारा सम्पादित पुस्तक गोरु चिन्तन एक थान प्राप्त गरे । उत्कृष्ट खेलाडी संयोकलाई नगद पुरस्कार र पुस्तक पत्ररका जनकऋषि राईद्वारा व्यक्तिगतरूपमा प्रदान गरेका थिए । यसअघि पनि उनले उत्कष्ट खेलाडीलाई आफ्नो तर्फबाट पुरस्कृत गरेका थिए । प्रतियोगिताको राइजिङ प्लेयर प्याराडाइस बोड्रिङ स्कुलका प्रिन्स खत्री घोषित भए । उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरबहादुर लिम्बू, विशेष अतिथि कोशी प्रदेश सांसद माननिय विजयकुमार राई, विशेष अतिथि डिपो स्कुल सार्वजनिक गुठी संस्थाका अध्यक्ष भीमराज लिम्बू, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुवेदी, व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक, डिपो क्याम्पस प्रमुख राजकुमार राई, विग्रेड एण्ड युनिट वेलफेयर अफिसर विजिएन मेजर राजिव श्रेष्ठ, प्रतियोगिता संयोजक खड्कसमशेर लिम्बू, डिपो स्कुल आइटी अफिसर सुधिर लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।
धरान र धरान आसपासका १७ वटा विद्यालय सहभागि रहेको प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघको रहेको थियो ।



