Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेमा सिनेमाको प्रभाव, जसले शिव सिनेमा हल खोलिदिएर धरानेलाई शहरिया बनाए

हाम्रो कोशी आवाज
पुष २३ २०८१, मंगलबार
धरानेमा सिनेमाको प्रभाव, जसले  शिव सिनेमा हल खोलिदिएर धरानेलाई शहरिया बनाए
-राजेन्द्र शर्मा
सिनेमाको इतिहास
संयुक्त राज्य अमेरिकाका विलियम लिंकनले सन् १८६७ मा पहिलो पटक गतिशील चित्र देखाउन सक्ने एउटा मेसिन बनाए । जसलाई उनीहरुले “wheel of life” or”zoopraxiscope” (inventors.about.com) भन्दिए । जसमा चित्रहरुलाई एनिमेसनबाट हिडाउन सकिन्थ्यो तर अहिलेको आधुनिक सिनेमा भन्दा त्यो अति नै फरक थियो । थियो त केवल सिनेमाको कल्पना मात्र । मुभि क्यामराको आविष्कार पछि मात्र वास्तवामा सिनेमाको इतिहास प्रारम्भ हुन्छ । त्यसको श्रेय जान्छ फ्रान्सेली नागरिक लुइस लुमिइरेलाई जसले सन् १८९५ मा मुभि क्यामेराको आविष्कार गरे । लुमिइरेले मोसन क्यामरा, फिल्म प्रोसेसिंग युनिट र प्रोजेक्टर सहितको तीनटा कामगर्ने एउटा पोर्टेबल मुभि क्यामरा बनाए जसलाई समग्रमा सिनेमेटोग्राफ भनियो । त्यसै समयमा लुमिइरे दाजुभाई मिलेर सामुहिक रुपमा पैसा तिरेर हेर्न सकिने मुभिको पनि व्यवस्था गरे । हुन त सन् १८९१ मा नै एकजनाले मात्र हेर्नमिल्ने काइनेटोस्कोप प्रोजेक्टरको प्रदर्शन गरेको थियो टमस एल्बा एडिसन कम्पनीले जस्लाई सन् १८९६ मा सुधार गरेर पुन: भिटास्कोप प्रजेक्टर बनायो सोही कम्पनीले नै । र, अमेरिकी बजारमा आएको पहिलो व्यावसायिक प्रोजेक्टर पनि यही नै भयो । लुमिइरे कै भाषामा भन्नुपर्दा “cinema is an invention without a future” अर्थात ‘सिनेमा भविष्य नभएको एउटा आविष्कार हो‘ । तर अहिले भने लुमिइरेको भनाई असत्य सावित भइरहेको छ । किनकि आज सिनेमा एउटा पाठशाला पनि हो जहां अनेकौं कुराहरु सिक्न सकिन्छ । हिजो, अमेरिकाको सिकागोमा भएको “Zoopraxographical Hall” नै पहिलो व्यवसायिक सिनेमा घर थियो जसमा देखाइएको पहिलो सिनेमा, पशुहरुको गतिविधिका बारेको थियो र आज विश्वभर अनगिन्ती संख्यामा साना र ठूला सिनेमा हलहरु छन् ।
नेपालमा सिनेमाको सुरुवात
विक्रम सम्बत २००८ सालमा ‘सत्य हरिशचन्द्र‘ नामको सिनेमा त्यो पनि भारतको कलकत्तामा नर्मिाण गरेर नेपाली सिनेमाको क ख रा सुरु हुन्छ । २०२१ सालमा बनेको ‘आमा‘ सिनेमा नेपालमा बनेको पहिलो नेपाली सिनेमा हो । नेपाल सरकार सूचना विभागले निर्माण गराएको उक्त सिनेमाका निर्देशक हीरासिंह खत्री थिए भने प्रशिद्ध गायक शिवशङ्कर मानन्धर नायक र कलाकार भुवन थापा नायिका थिइन् । निजी क्षेत्रबाट निर्माण भएको पहिलो नेपाली सिनेमा भने माइतिघर हो । भारतीय कलाकार र गायक गायिकाहरुको समेत संलग्नता भएको माइतिघर वि.सं. २०२३ सालमा बनेको थियो । सूचना विभागले भने त्यसपछि पनि हिजो आज भोलि (२०२४) र परिवर्तन (२०२८) बनायो । २०२८ सालमा नै ‘शाही नेपाल चलचित्र संस्थान‘ को गठन गरेर सो संस्थानले “मनको बांध” नामको पहिलो सिनेमाको निर्माण गर्यो । त्यसपछि त लगातार कुमारी (२०३४), सिन्दूर (२०३७) र जीवनरेखा (२०३८) संस्थानले सिनेमा निर्माण गरेर चल्न थालेपछि नेपाली निजी क्षेत्रमा यस विधामा लगानी गर्ने साहस पैदा भयो र उनीहरु अहिले व्यापक मात्रामा सिनेमा निर्माणतर्फ आकर्षित भएको पाइन्छ (www.film.gov.np) । मलाई भने आफू ५ वर्षको हुँदा आमासंग हेर्न गएको हिन्दी धार्मिक सिनेमा “कण कण मे भगवान” नै आफ्नो प्रथम सिनेमाको अनुभव हो भन्ने लाग्छ, जुन सिनेमा मैले शिव सिनेमा हलमा नै हेरेको थिए । मेरो जीवनमा अविस्मरणीय रहेको सिनेमा भने २०२९ सालमा शिव सिनेमा हलमा नै हेरेको राजेश खन्नाको “आनन्द” हो ।
धरानमा सिनेमा
नेपालमा भारतबाट मेला लिएर आउने टोलीले वर्षै पिच्छे व्यापक मात्रामा टुरिङ्ग टाकिज लिएर आउँथे । त्यस्ता मेलामा बोरा र त्रिपालले बारेर अस्थायी सिनेमाघरहरु बनाएर चलाउने नेपालका तराई क्षेत्रमा आम रुपमा प्रचलनमा थियो । त्यसैले एउटा तराईको सामान्य ठिटो पनि सिनेमाका मामलामा एकजना पहाडे विद्वान बुद्धिजीवी भन्दा निकै तिखो हुनु स्वभाविक हो । तराईको कल्चर नै हो सिनेमा । सिनेमा वास्तबमा एउटा स्कुल, कलेज अथवा विश्वविद्यालय नै हो भन्दा अत्युक्ति हुदैन, जहां हजारौं पाठहरुको सचित्र र सप्रसङ्ग वयान गरिएको हुन्छ – श्रव्य र दृष्य दुवै रुप र शैलीमा । धरानमा यो विधाको विश्वविद्यालय खोलेर धरानलाई यस क्षेत्रमा गतिशील बनाउने श्रेय स्व. फणिन्द्रप्रसाद आचार्यका पिता स्व. शिवप्रसाद आचार्यलाई जान्छ । जसले धरानको छातीमा शिव सिनेमा हलको स्थापना गरेर आफ्नो व्यावसायिक उचाई मात्र थपेनन् बरु एउटा खुल्ला विश्वविद्यालयको नै स्थापना गरे । सिनेमा आफैंमा ज्ञानको अथाह सागर हो । हेर्ने मानिसले त्यसबाट कति र कस्तो ज्ञान आर्जन गर्ने हो ? त्यो त उसको मस्तिष्कको क्षमतामा भर पर्दछ । सिनेमाका सयौं विधाहरु मध्ये कसैलाई कला, कसैलाई फाइट, कसैलाई गीत, कसैलाई कलाकार, कसैलाई साजसज्जा त कसैलाई कथावस्तु मनपर्न सक्छ । मन पराउनु भनेको त्यसप्रति आकर्षित हुनु हो । मानिस स्वभाविक रुपमा भिन्न भिन्न प्रकृतिका हुन्छन् । सबैलाई एउटै विषय एकै प्रकारले एउटै विन्दूमा मन नपर्न सक्छ । सिकाई, रुची र स्वाद आ-आफ्नो निजी विषय हो । त्यसैले सिनेमा हेर्ने फरक फरक दर्शकले एउटै सिनेमाबाट लिने ज्ञान फरक फरक हुनसक्छन् । सिनेमा हेरेर मानिसहरु आफ्ना छोराछोरी बिग्रिए भनेको मैले सुनेको छु । हामीलाई पनि केटाकेटीमा त्यसै भन्ने गर्नुहुन्थ्यो हाम्रा आमा-बाहरु । तर, बुझाइमा अन्तर रहेछ । अहिलेको पिंढी सिनेमाबाट अलग बस्यो भने त घरमा उल्टै भन्ने गरिन्छ मेरा केटाकेटीलाई डिप्रेसन छ कि क्या हो, सिनेमा पनि हेर्दैनन् ।
आज युग कहाँबाट कहाँ पुगिसक्यो, हामी मध्ये कति अझै पुरातन सोचबाट मुक्त छैनौ । कति मेहनत पर्छ एउटा सिनेमा बनाउन ? कति हजार वर्षको अनुसन्धान पछि सिनेमाको निर्माण सम्भव भयो ? कति मानिसले कति उर्जा समाप्त पारे आजको आधुनिक सिनेमा बनाउन सफल बन्नका लागि ? के कसैले यसको लेखा जोखा गरेको छ ? सिनेमा एउटा दिवास्वप्नले बनेको चिज होइन । यो एक स्वैरकल्पना मात्र पनि त होइन । यो त एउटा विज्ञान हो । एउटा विधा हो । एउटा शास्त्र हो । र एउटा आविष्कार हो । आज संसारका ख्यातिप्राप्त सबै विश्वविद्यलयमा सिनेमा वा सिनेमाका बारेमा पढाई हुने गर्छ कोर्स मै राखेर । आज हामी नेपालको पहिलो वा जेठो विश्वविद्यालय खुलेको साल याद गरिरहेका छौं, २०१६ साल, जब त्रिभुवन विश्वविद्यालय खुल्यो । हो, त्यसैसाल धरानमा पनि शिव सिनेमा नाम गरेको अर्को एउटा खुल्ला विश्वविद्यालय खुल्यो । संख्यामा गनेर त म भन्न सक्तिन हालसम्म कति जना विद्यार्थीले त्रि.वि. मा अध्ययन गरे ? तर एउटा कुरा के सांचो हो भने त्यो भन्दा सयौं गुणा बढी विद्यार्थीले धरानको सिनेमा हल विश्वविद्यालयमा अध्ययन गरिसकेका छन् । उमेर, जात, वर्ण, लिङ्ग, धर्म, स्थान वा कुनै पनि कुराको भेदभाव र सीमा भन्दा बाहिर छ र खुल्ला छ यो विश्वविद्यालय । फरक यत्ति हो कि यो विश्वविद्यालयमा पढेर प्रमाणपत्र मात्र पाइदैन, तर पाइन्छ अनेकौं अनुभव, कला, शीप र चेतना । हो, धराने हुनुमा हामीले अनुभव गर्न सक्नेगरी तिनै चेतनाहरु छरपस्ट भएको देख्न सकिन्छ । सिनेमाको प्रभाव धरानमा हुर्किने सबै बालक युवा र वृद्धमा परेको प्रष्ट देख्न सकिन्छ ।
धरानका दुइटा हल र धराने क्रेज
धरानमा २०१९ तिर अर्को पनि सिनेमा हल खुलेको हो गणेश टाकिज । गणेश टाकिज खुलाउनुमा पनि फणिन्द्र आचार्यको परिवार कै ठूलो हात छ । २०१८ साल तिरको कुरा रहेछ । एकदिन लक्ष्मीप्रसाद श्रेष्ठ सिनेमा हेर्न गएका रहेछन् शिव सिनेमा हलमा । उनलाई सिनेमा खुब मन पर्थ्यो अरे । सिनेमाका सौखिन भएकाले उनी गइरहँदा रहेछन् । उनलाई सिनेमा हलका मालिक फणिन्द्रका पिता शिवप्रसाद आचार्यसंग केही सोध्न मन लागेछ सिनेमाको प्रविधिबारे । तर कुरो भुइमा झर्न नपाउँदै शिवप्रसादले निकै झपारेछन् लक्ष्मीप्रसादलाई । किन चाहियो ? केलाई चाहियो ? तिमीलाई किन भन्ने ? जस्ता अलिक च्याँठिएका कुरा सुनेपछि झ्वाँकले रन्थनिएर लक्ष्मीप्रसाद लागेछन काठमाण्डु तिर र एक महिना बसेर गणेश टाकिजको लाइसेन्स लिएर आएछन् । लक्ष्मीप्रसादले आफ्नी जेठी छोरी गणेशकुमारीका नाममा गणेश टाकिज खोले । तर त्यसको श्रेय भने आचार्य परिवारलाई नै जान्छ । किनभने त्यो दिन लक्ष्मीप्रसादलाई शिवप्रसादले रिस नउठाइदिएका भए गणेश टाकिज जन्मने थियो कि थिएन ? कम से कम धरानेहरुले त्यो सौभाग्य त पाए, कि आफ्नो सहरमा दुइटा सिनेमा हल छन् भन्ने । संसारका व्यस्त र विकसित खचाखच सहरहरुमा अनगिन्ती सिमेमा हलहरु हुन्छन् । किनभने सिनेमा हल विकासको द्योतक पनि हो । सिनेमा हल भएको गाँउ र नभएको गाँउ आज पनि हामी दाँज्न सक्छौं – विकास, सभ्यता र आधुनिकताका हिसाबले । पहिलो सिनेमा हल अर्थात् शिव सिनेमा हल थियो हामी पढेको पब्लिक हाइस्कुल भन्दा अलिकति पश्चिम तिर तर त्यही चतरा लाइनमा नै र गणेश टाकिज थियो शिक्षा निकेतन स्कुलसंगै । त्यसैले पब्लिक हाइस्कुल पढ्ने र निकेतन पढ्ने त्यतिबेला (२०२०-२०५०) का विद्यार्थीका लागि त स्कुलबाट भागेर लुसुक्क सिनेमा हेर्न छिर्नु कुनै ठूलो कुरा नै थिएन । सिनेमा बदलिएको सूचना पनि यति रमाइलोसंग धरानमा दिने चलन थियो कि एउटा गाडीमा दुबैपटि ठूला-ठूला पोष्टर टाँसिएका हुन्थे र माइक जडान गरिएको उक्त गाडीमा एकजना माइकिङ्ग गर्ने मानिस बसेर फुक्दै हिँड्थे – प्राय त्यसरी बोल्नेमा हुन्थे महेश पलिखे दाई । गाडीले छर्दै हिँड्थ्यो सिनेमाको पाम्फ्लेटहरु – पाम्फ्लेट बटुल्न दौडिनु र भेटेर अरुलाई जितेर सिनेमाबारे जानकारी पाउनु त्यसबेलाका धराने केटाकेटीमा होड नै हुन्थ्यो । सिनेमा हलहरुमा मेटिनी शो १२ बजे, दिउँसोको शो ३ बजे र नाइट शो साँझ ६ बजे गरेर तीन शो सिनेमा देखाइन्थ्यो । शनिबार स्कुल छुट्टी हुने र सिनेमा हलले पनि कन्सेसन दिने भएकाले सस्तोमा सिनेमा हेर्न पाइने, त्यसैले शनिबार टिकट पाउनु मुश्किल हुन्थ्यो । टिकट ब्लेकर (धराने भाषामा “ब्ल्याकी”) प्रशस्तै थिए त्यसबेला दुइटै हलमा । ब्ल्याकीले नै अधिकाङ्श टिकट कब्जा गर्थे र महङ्गा दाममा बेच्थे । गर्ल फ्रेण्ड लिएर जाने वा श्रीमती लिएर जाने धराने बिचराले आफ्नो साथीका अगाडि इज्जत जोगाउन पनि ब्ल्याकमा टिकट किन्नु त स्वभाविक नै थियो उ बेला । तर, आज ती दुबै सिनेमा हलहरु खण्डहर झैं भएका छन् – बन्द भएका छन् । शायद इण्टरनेट र एण्ड्रोइड फोनले ठूलो पर्दामा देखाइने सिनेमा हेर्न अभ्यस्त हलका पारखीहरुको संख्या घटाइदियो क्यारे ।
सिनेमा र आर्थिक उन्नति
आर्थिक उन्नतिमा सिनेमाको ठूलो भूमिका हुन्छ । आज संसारमा सबै भन्दा बढी सिनेमा उत्पादन गर्ने प्रमुख तीन देशहरुमा भारत त्यसपछि जापान अनि अमेरिका पर्छन् । विकासको गति र आर्थिक बृद्धिदरका हिसाबले पनि यी राष्ट्रहरु अग्रपंक्तिमा छन् । यो ठम्याउन हामीलाई पक्कै पनि कठिन होला कि यी देशहरु सिनेमा बनाएर विकसित भएका हुन् कि विकसित भएकाले सिनेमा बनाएका हुन् । तर एउटा कुरा के सत्य हो भने, धन रातारात कमाउन सकिएला, संस्कार कमाउन पुस्तौं लाग्छ । सिनेमाबाट मानिस, समुदाय, समाज र देशको संस्कार अध्ययन गर्न सकिन्छ । यसकै आधारमा जीवन यापन गर्नेहरुले व्यापक आर्थिक उन्नति गरेको देख्न सकिन्छ । आर्थिक गतिविधिको सकृय साधनका रुपमा सिनेमालाई आज संसारले आत्मसात गरेको छ । सिनेमा एउटा सशक्त पेशा हो र हो एउटा सफलतम व्यवसाय पनि । एउटा सिनेमाका माध्यमबाट समाजमा गुणक प्रभाव (Multiplier Effect) पर्छ आर्थिक गतिविधिमा । जसमा आश्रित करौडौं मानिसहरुको त प्राण नै हो सिनेमा ।
धरानेमा सिनेमाको छाया
स्वर्गीय शिवप्रसाद आचार्य धरानका पहिला अग्रज हुन् जसले धरानेहरुलाई शहरिया बनाउने र शहरिया संस्कारमा भिजाउने सुवर्ण मौका प्रदान गरे सिनेमाको माध्यमबाट – शिव सिनेमा हल खोलिदिएर । तमाम धराने जगत आसपासको ग्रामीण समुदाय भन्दा आज पनि पृथक देखापर्छ, धरानेका आफ्नै स्वभाव र शैली हुन्छ, धराने हुनुमा पृथक प्रकारको गर्व हुन्छ । जसरी सिनेमाको सोच विकास गराउने अमेरिकी वैज्ञानिक विलियम लिंकनलाई मानिसले बिर्सिइसके त्यसैगरी शिवप्रसाद आचार्य र लक्ष्मीप्रसाद श्रेष्ठलाई धरानेले पनि बिर्सिए होलान् तर धरानेलाई उनीहरुको स्वभावको यो आकार-प्रकार दिनुमा धरानका यी सिनेमा हलहरुको कत्रो भुमिका थियो ? हामी अनुमान लगाउन सक्छौं । जुनसुकै धराने आज संसारको जहाँ पुगेको होस् ऊ सिनेमाको क्रेजी हुन्छ र सिनेमा हेर्ने फुर्सद निकालेरै भए पनि गइहाल्छ । मलाई त कस्तो लाग्छ भने ‘यदि कसैले म धराने हुँ भन्यो तर मलाई सिनेमामा रुची छैन भन्यो’ भने ऊ धराने हुनै सक्तैन जस्तो लाग्छ । त्यति क्रेज छ धरानमा सिनेमाको । तपाइ पनि जाँच्न सक्नुहुन्छ ठेट धरानेलाई – उसको बोल्ने शैलीबाट । ठेट धराने कस्तो हुन्छ त ? या त ऊ खस्रो बोल्छ या सिनेमाको डायलगको शैलीमा बोल्छ । सिनेमाको अनौठो छाया परेको हुन्छ त्यस्ता धरानेमा जसले धरानको छातीमा २०२० साल देखि २०६० सालका बिचको अवधि धरानमा नै गुजारेको छ ।

प्रकाशित मिति: पुष २३ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend