सिनेमाको इतिहास
संयुक्त राज्य अमेरिकाका विलियम लिंकनले सन् १८६७ मा पहिलो पटक गतिशील चित्र देखाउन सक्ने एउटा मेसिन बनाए । जसलाई उनीहरुले “wheel of life” or”zoopraxiscope” (
inventors.about.com) भन्दिए । जसमा चित्रहरुलाई एनिमेसनबाट हिडाउन सकिन्थ्यो तर अहिलेको आधुनिक सिनेमा भन्दा त्यो अति नै फरक थियो । थियो त केवल सिनेमाको कल्पना मात्र । मुभि क्यामराको आविष्कार पछि मात्र वास्तवामा सिनेमाको इतिहास प्रारम्भ हुन्छ । त्यसको श्रेय जान्छ फ्रान्सेली नागरिक लुइस लुमिइरेलाई जसले सन् १८९५ मा मुभि क्यामेराको आविष्कार गरे । लुमिइरेले मोसन क्यामरा, फिल्म प्रोसेसिंग युनिट र प्रोजेक्टर सहितको तीनटा कामगर्ने एउटा पोर्टेबल मुभि क्यामरा बनाए जसलाई समग्रमा सिनेमेटोग्राफ भनियो । त्यसै समयमा लुमिइरे दाजुभाई मिलेर सामुहिक रुपमा पैसा तिरेर हेर्न सकिने मुभिको पनि व्यवस्था गरे । हुन त सन् १८९१ मा नै एकजनाले मात्र हेर्नमिल्ने काइनेटोस्कोप प्रोजेक्टरको प्रदर्शन गरेको थियो टमस एल्बा एडिसन कम्पनीले जस्लाई सन् १८९६ मा सुधार गरेर पुन: भिटास्कोप प्रजेक्टर बनायो सोही कम्पनीले नै । र, अमेरिकी बजारमा आएको पहिलो व्यावसायिक प्रोजेक्टर पनि यही नै भयो । लुमिइरे कै भाषामा भन्नुपर्दा “cinema is an invention without a future” अर्थात ‘सिनेमा भविष्य नभएको एउटा आविष्कार हो‘ । तर अहिले भने लुमिइरेको भनाई असत्य सावित भइरहेको छ । किनकि आज सिनेमा एउटा पाठशाला पनि हो जहां अनेकौं कुराहरु सिक्न सकिन्छ । हिजो, अमेरिकाको सिकागोमा भएको “Zoopraxographical Hall” नै पहिलो व्यवसायिक सिनेमा घर थियो जसमा देखाइएको पहिलो सिनेमा, पशुहरुको गतिविधिका बारेको थियो र आज विश्वभर अनगिन्ती संख्यामा साना र ठूला सिनेमा हलहरु छन् ।
नेपालमा सिनेमाको सुरुवात
विक्रम सम्बत २००८ सालमा ‘सत्य हरिशचन्द्र‘ नामको सिनेमा त्यो पनि भारतको कलकत्तामा नर्मिाण गरेर नेपाली सिनेमाको क ख रा सुरु हुन्छ । २०२१ सालमा बनेको ‘आमा‘ सिनेमा नेपालमा बनेको पहिलो नेपाली सिनेमा हो । नेपाल सरकार सूचना विभागले निर्माण गराएको उक्त सिनेमाका निर्देशक हीरासिंह खत्री थिए भने प्रशिद्ध गायक शिवशङ्कर मानन्धर नायक र कलाकार भुवन थापा नायिका थिइन् । निजी क्षेत्रबाट निर्माण भएको पहिलो नेपाली सिनेमा भने माइतिघर हो । भारतीय कलाकार र गायक गायिकाहरुको समेत संलग्नता भएको माइतिघर वि.सं. २०२३ सालमा बनेको थियो । सूचना विभागले भने त्यसपछि पनि हिजो आज भोलि (२०२४) र परिवर्तन (२०२८) बनायो । २०२८ सालमा नै ‘शाही नेपाल चलचित्र संस्थान‘ को गठन गरेर सो संस्थानले “मनको बांध” नामको पहिलो सिनेमाको निर्माण गर्यो । त्यसपछि त लगातार कुमारी (२०३४), सिन्दूर (२०३७) र जीवनरेखा (२०३८) संस्थानले सिनेमा निर्माण गरेर चल्न थालेपछि नेपाली निजी क्षेत्रमा यस विधामा लगानी गर्ने साहस पैदा भयो र उनीहरु अहिले व्यापक मात्रामा सिनेमा निर्माणतर्फ आकर्षित भएको पाइन्छ (
www.film.gov.np) । मलाई भने आफू ५ वर्षको हुँदा आमासंग हेर्न गएको हिन्दी धार्मिक सिनेमा “कण कण मे भगवान” नै आफ्नो प्रथम सिनेमाको अनुभव हो भन्ने लाग्छ, जुन सिनेमा मैले शिव सिनेमा हलमा नै हेरेको थिए । मेरो जीवनमा अविस्मरणीय रहेको सिनेमा भने २०२९ सालमा शिव सिनेमा हलमा नै हेरेको राजेश खन्नाको “आनन्द” हो ।
धरानमा सिनेमा
नेपालमा भारतबाट मेला लिएर आउने टोलीले वर्षै पिच्छे व्यापक मात्रामा टुरिङ्ग टाकिज लिएर आउँथे । त्यस्ता मेलामा बोरा र त्रिपालले बारेर अस्थायी सिनेमाघरहरु बनाएर चलाउने नेपालका तराई क्षेत्रमा आम रुपमा प्रचलनमा थियो । त्यसैले एउटा तराईको सामान्य ठिटो पनि सिनेमाका मामलामा एकजना पहाडे विद्वान बुद्धिजीवी भन्दा निकै तिखो हुनु स्वभाविक हो । तराईको कल्चर नै हो सिनेमा । सिनेमा वास्तबमा एउटा स्कुल, कलेज अथवा विश्वविद्यालय नै हो भन्दा अत्युक्ति हुदैन, जहां हजारौं पाठहरुको सचित्र र सप्रसङ्ग वयान गरिएको हुन्छ – श्रव्य र दृष्य दुवै रुप र शैलीमा । धरानमा यो विधाको विश्वविद्यालय खोलेर धरानलाई यस क्षेत्रमा गतिशील बनाउने श्रेय स्व. फणिन्द्रप्रसाद आचार्यका पिता स्व. शिवप्रसाद आचार्यलाई जान्छ । जसले धरानको छातीमा शिव सिनेमा हलको स्थापना गरेर आफ्नो व्यावसायिक उचाई मात्र थपेनन् बरु एउटा खुल्ला विश्वविद्यालयको नै स्थापना गरे । सिनेमा आफैंमा ज्ञानको अथाह सागर हो । हेर्ने मानिसले त्यसबाट कति र कस्तो ज्ञान आर्जन गर्ने हो ? त्यो त उसको मस्तिष्कको क्षमतामा भर पर्दछ । सिनेमाका सयौं विधाहरु मध्ये कसैलाई कला, कसैलाई फाइट, कसैलाई गीत, कसैलाई कलाकार, कसैलाई साजसज्जा त कसैलाई कथावस्तु मनपर्न सक्छ । मन पराउनु भनेको त्यसप्रति आकर्षित हुनु हो । मानिस स्वभाविक रुपमा भिन्न भिन्न प्रकृतिका हुन्छन् । सबैलाई एउटै विषय एकै प्रकारले एउटै विन्दूमा मन नपर्न सक्छ । सिकाई, रुची र स्वाद आ-आफ्नो निजी विषय हो । त्यसैले सिनेमा हेर्ने फरक फरक दर्शकले एउटै सिनेमाबाट लिने ज्ञान फरक फरक हुनसक्छन् । सिनेमा हेरेर मानिसहरु आफ्ना छोराछोरी बिग्रिए भनेको मैले सुनेको छु । हामीलाई पनि केटाकेटीमा त्यसै भन्ने गर्नुहुन्थ्यो हाम्रा आमा-बाहरु । तर, बुझाइमा अन्तर रहेछ । अहिलेको पिंढी सिनेमाबाट अलग बस्यो भने त घरमा उल्टै भन्ने गरिन्छ मेरा केटाकेटीलाई डिप्रेसन छ कि क्या हो, सिनेमा पनि हेर्दैनन् ।
आज युग कहाँबाट कहाँ पुगिसक्यो, हामी मध्ये कति अझै पुरातन सोचबाट मुक्त छैनौ । कति मेहनत पर्छ एउटा सिनेमा बनाउन ? कति हजार वर्षको अनुसन्धान पछि सिनेमाको निर्माण सम्भव भयो ? कति मानिसले कति उर्जा समाप्त पारे आजको आधुनिक सिनेमा बनाउन सफल बन्नका लागि ? के कसैले यसको लेखा जोखा गरेको छ ? सिनेमा एउटा दिवास्वप्नले बनेको चिज होइन । यो एक स्वैरकल्पना मात्र पनि त होइन । यो त एउटा विज्ञान हो । एउटा विधा हो । एउटा शास्त्र हो । र एउटा आविष्कार हो । आज संसारका ख्यातिप्राप्त सबै विश्वविद्यलयमा सिनेमा वा सिनेमाका बारेमा पढाई हुने गर्छ कोर्स मै राखेर । आज हामी नेपालको पहिलो वा जेठो विश्वविद्यालय खुलेको साल याद गरिरहेका छौं, २०१६ साल, जब त्रिभुवन विश्वविद्यालय खुल्यो । हो, त्यसैसाल धरानमा पनि शिव सिनेमा नाम गरेको अर्को एउटा खुल्ला विश्वविद्यालय खुल्यो । संख्यामा गनेर त म भन्न सक्तिन हालसम्म कति जना विद्यार्थीले त्रि.वि. मा अध्ययन गरे ? तर एउटा कुरा के सांचो हो भने त्यो भन्दा सयौं गुणा बढी विद्यार्थीले धरानको सिनेमा हल विश्वविद्यालयमा अध्ययन गरिसकेका छन् । उमेर, जात, वर्ण, लिङ्ग, धर्म, स्थान वा कुनै पनि कुराको भेदभाव र सीमा भन्दा बाहिर छ र खुल्ला छ यो विश्वविद्यालय । फरक यत्ति हो कि यो विश्वविद्यालयमा पढेर प्रमाणपत्र मात्र पाइदैन, तर पाइन्छ अनेकौं अनुभव, कला, शीप र चेतना । हो, धराने हुनुमा हामीले अनुभव गर्न सक्नेगरी तिनै चेतनाहरु छरपस्ट भएको देख्न सकिन्छ । सिनेमाको प्रभाव धरानमा हुर्किने सबै बालक युवा र वृद्धमा परेको प्रष्ट देख्न सकिन्छ ।
धरानका दुइटा हल र धराने क्रेज
धरानमा २०१९ तिर अर्को पनि सिनेमा हल खुलेको हो गणेश टाकिज । गणेश टाकिज खुलाउनुमा पनि फणिन्द्र आचार्यको परिवार कै ठूलो हात छ । २०१८ साल तिरको कुरा रहेछ । एकदिन लक्ष्मीप्रसाद श्रेष्ठ सिनेमा हेर्न गएका रहेछन् शिव सिनेमा हलमा । उनलाई सिनेमा खुब मन पर्थ्यो अरे । सिनेमाका सौखिन भएकाले उनी गइरहँदा रहेछन् । उनलाई सिनेमा हलका मालिक फणिन्द्रका पिता शिवप्रसाद आचार्यसंग केही सोध्न मन लागेछ सिनेमाको प्रविधिबारे । तर कुरो भुइमा झर्न नपाउँदै शिवप्रसादले निकै झपारेछन् लक्ष्मीप्रसादलाई । किन चाहियो ? केलाई चाहियो ? तिमीलाई किन भन्ने ? जस्ता अलिक च्याँठिएका कुरा सुनेपछि झ्वाँकले रन्थनिएर लक्ष्मीप्रसाद लागेछन काठमाण्डु तिर र एक महिना बसेर गणेश टाकिजको लाइसेन्स लिएर आएछन् । लक्ष्मीप्रसादले आफ्नी जेठी छोरी गणेशकुमारीका नाममा गणेश टाकिज खोले । तर त्यसको श्रेय भने आचार्य परिवारलाई नै जान्छ । किनभने त्यो दिन लक्ष्मीप्रसादलाई शिवप्रसादले रिस नउठाइदिएका भए गणेश टाकिज जन्मने थियो कि थिएन ? कम से कम धरानेहरुले त्यो सौभाग्य त पाए, कि आफ्नो सहरमा दुइटा सिनेमा हल छन् भन्ने । संसारका व्यस्त र विकसित खचाखच सहरहरुमा अनगिन्ती सिमेमा हलहरु हुन्छन् । किनभने सिनेमा हल विकासको द्योतक पनि हो । सिनेमा हल भएको गाँउ र नभएको गाँउ आज पनि हामी दाँज्न सक्छौं – विकास, सभ्यता र आधुनिकताका हिसाबले । पहिलो सिनेमा हल अर्थात् शिव सिनेमा हल थियो हामी पढेको पब्लिक हाइस्कुल भन्दा अलिकति पश्चिम तिर तर त्यही चतरा लाइनमा नै र गणेश टाकिज थियो शिक्षा निकेतन स्कुलसंगै । त्यसैले पब्लिक हाइस्कुल पढ्ने र निकेतन पढ्ने त्यतिबेला (२०२०-२०५०) का विद्यार्थीका लागि त स्कुलबाट भागेर लुसुक्क सिनेमा हेर्न छिर्नु कुनै ठूलो कुरा नै थिएन । सिनेमा बदलिएको सूचना पनि यति रमाइलोसंग धरानमा दिने चलन थियो कि एउटा गाडीमा दुबैपटि ठूला-ठूला पोष्टर टाँसिएका हुन्थे र माइक जडान गरिएको उक्त गाडीमा एकजना माइकिङ्ग गर्ने मानिस बसेर फुक्दै हिँड्थे – प्राय त्यसरी बोल्नेमा हुन्थे महेश पलिखे दाई । गाडीले छर्दै हिँड्थ्यो सिनेमाको पाम्फ्लेटहरु – पाम्फ्लेट बटुल्न दौडिनु र भेटेर अरुलाई जितेर सिनेमाबारे जानकारी पाउनु त्यसबेलाका धराने केटाकेटीमा होड नै हुन्थ्यो । सिनेमा हलहरुमा मेटिनी शो १२ बजे, दिउँसोको शो ३ बजे र नाइट शो साँझ ६ बजे गरेर तीन शो सिनेमा देखाइन्थ्यो । शनिबार स्कुल छुट्टी हुने र सिनेमा हलले पनि कन्सेसन दिने भएकाले सस्तोमा सिनेमा हेर्न पाइने, त्यसैले शनिबार टिकट पाउनु मुश्किल हुन्थ्यो । टिकट ब्लेकर (धराने भाषामा “ब्ल्याकी”) प्रशस्तै थिए त्यसबेला दुइटै हलमा । ब्ल्याकीले नै अधिकाङ्श टिकट कब्जा गर्थे र महङ्गा दाममा बेच्थे । गर्ल फ्रेण्ड लिएर जाने वा श्रीमती लिएर जाने धराने बिचराले आफ्नो साथीका अगाडि इज्जत जोगाउन पनि ब्ल्याकमा टिकट किन्नु त स्वभाविक नै थियो उ बेला । तर, आज ती दुबै सिनेमा हलहरु खण्डहर झैं भएका छन् – बन्द भएका छन् । शायद इण्टरनेट र एण्ड्रोइड फोनले ठूलो पर्दामा देखाइने सिनेमा हेर्न अभ्यस्त हलका पारखीहरुको संख्या घटाइदियो क्यारे ।
सिनेमा र आर्थिक उन्नति
आर्थिक उन्नतिमा सिनेमाको ठूलो भूमिका हुन्छ । आज संसारमा सबै भन्दा बढी सिनेमा उत्पादन गर्ने प्रमुख तीन देशहरुमा भारत त्यसपछि जापान अनि अमेरिका पर्छन् । विकासको गति र आर्थिक बृद्धिदरका हिसाबले पनि यी राष्ट्रहरु अग्रपंक्तिमा छन् । यो ठम्याउन हामीलाई पक्कै पनि कठिन होला कि यी देशहरु सिनेमा बनाएर विकसित भएका हुन् कि विकसित भएकाले सिनेमा बनाएका हुन् । तर एउटा कुरा के सत्य हो भने, धन रातारात कमाउन सकिएला, संस्कार कमाउन पुस्तौं लाग्छ । सिनेमाबाट मानिस, समुदाय, समाज र देशको संस्कार अध्ययन गर्न सकिन्छ । यसकै आधारमा जीवन यापन गर्नेहरुले व्यापक आर्थिक उन्नति गरेको देख्न सकिन्छ । आर्थिक गतिविधिको सकृय साधनका रुपमा सिनेमालाई आज संसारले आत्मसात गरेको छ । सिनेमा एउटा सशक्त पेशा हो र हो एउटा सफलतम व्यवसाय पनि । एउटा सिनेमाका माध्यमबाट समाजमा गुणक प्रभाव (Multiplier Effect) पर्छ आर्थिक गतिविधिमा । जसमा आश्रित करौडौं मानिसहरुको त प्राण नै हो सिनेमा ।
धरानेमा सिनेमाको छाया
स्वर्गीय शिवप्रसाद आचार्य धरानका पहिला अग्रज हुन् जसले धरानेहरुलाई शहरिया बनाउने र शहरिया संस्कारमा भिजाउने सुवर्ण मौका प्रदान गरे सिनेमाको माध्यमबाट – शिव सिनेमा हल खोलिदिएर । तमाम धराने जगत आसपासको ग्रामीण समुदाय भन्दा आज पनि पृथक देखापर्छ, धरानेका आफ्नै स्वभाव र शैली हुन्छ, धराने हुनुमा पृथक प्रकारको गर्व हुन्छ । जसरी सिनेमाको सोच विकास गराउने अमेरिकी वैज्ञानिक विलियम लिंकनलाई मानिसले बिर्सिइसके त्यसैगरी शिवप्रसाद आचार्य र लक्ष्मीप्रसाद श्रेष्ठलाई धरानेले पनि बिर्सिए होलान् तर धरानेलाई उनीहरुको स्वभावको यो आकार-प्रकार दिनुमा धरानका यी सिनेमा हलहरुको कत्रो भुमिका थियो ? हामी अनुमान लगाउन सक्छौं । जुनसुकै धराने आज संसारको जहाँ पुगेको होस् ऊ सिनेमाको क्रेजी हुन्छ र सिनेमा हेर्ने फुर्सद निकालेरै भए पनि गइहाल्छ । मलाई त कस्तो लाग्छ भने ‘यदि कसैले म धराने हुँ भन्यो तर मलाई सिनेमामा रुची छैन भन्यो’ भने ऊ धराने हुनै सक्तैन जस्तो लाग्छ । त्यति क्रेज छ धरानमा सिनेमाको । तपाइ पनि जाँच्न सक्नुहुन्छ ठेट धरानेलाई – उसको बोल्ने शैलीबाट । ठेट धराने कस्तो हुन्छ त ? या त ऊ खस्रो बोल्छ या सिनेमाको डायलगको शैलीमा बोल्छ । सिनेमाको अनौठो छाया परेको हुन्छ त्यस्ता धरानेमा जसले धरानको छातीमा २०२० साल देखि २०६० सालका बिचको अवधि धरानमा नै गुजारेको छ ।