धरानः हुण्डी कारोबार गर्दै आएको सुइँको पाएको सुनसरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
शंकास्पद मानिसहरूको बैंकिङ कारोबार विश्लेषण गर्दै जाने क्रममा मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी एक अर्ब ५७ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकम कारोबार भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूको संलग्नतामा त्यतिका रकम कारोबार भएको देखिएको उनले जानकारी दिए । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद शाह र विराटनगर-१७ का ३५ वर्षीय सुरजप्रसाद शाह रहेका छन् ।
सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर दुवै जनालाई विराटनगरबाटै पक्राउ गरिएको डिएसपी खड्काले बताए । उनका अनुसार हुण्डी कारोबार भइरहेको विशेष सूचना पाएपछि केही व्यक्तिको बैंकिङ गतिविधिमाथि निगरानी थालेको थियो । बैंक खाताको कारोबार विश्लेषण गर्दा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका खाताबाट ठूलो परिमाणमा रकम आदानप्रदान भएको भेटिएपछि अनुसन्धानलाई थप अघि बढाइएको जानकारी डीएसपी खड्काले दिए ।
हालसम्मको अनुसन्धानबाट एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार तीन सय चालिस रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डी कारोबारमा प्रयोग भएको देखिएको प्रहरीको दाबी छ । उनका अनुसार विभिन्न बैंक खातामा रकम जम्मा हुने र अर्को खातामा पठाइने क्रम, कारोबारको प्रकृति तथा सम्बन्धित व्यक्तिहरूसँगको सम्पर्कलगायत पक्षलाई अनुसन्धानको आधार बनाइएको छ। प्रहरीले कारोबारमा संलग्न अन्य व्यक्तिको पहिचान, प्रयोग भएका बैंक खाता तथा रकमको स्रोत र गन्तव्यका बारेमा पनि अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका साहद्वयलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बैंकिङ प्रणालीमा ठूलो रकमको कारोबार देखिँदैमा त्यसलाई मात्र आधार बनाएर कसुर प्रमाणित नहुने स्पष्ट पारेको छ । रकम कहाँबाट आयो, के प्रयोजनका लागि प्रयोग भयो र कारोबारको वास्तविक कानुनी प्रकृति के हो भन्ने विषय अनुसन्धानबाट खुलेपछि मात्र कसुर स्थापित हुने प्रहरीले जनाएको छ। हुण्डी कारोबारको सम्भावित सञ्जाल, रकमको वास्तविक स्रोत र गन्तव्य तथा अन्य व्यक्तिको संलग्नताका विषयमा अनुसन्धान जारी रहेको जानकारी डीएसपी खड्काले दिए ।