धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका एकजना छात्र राष्ट्रिय कविता महोत्सवमा उत्कृष्ट हुँदै छनौट भएका छन् ।
कक्षा-१० अध्ययनरत् विद्यार्थी सामुयल कोइराला विश्वकर्माको कविता छनौटमा परेको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औं वार्षिक उत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रव्यापी खुल्ला कविता महोत्सव २०८२ का प्रेसित कविताहरूमध्ये मूल्याङ्कन समितिको मल्याङ्कनअनुसार देशभरीबाट २५ जना कविका २५ वटा कविताहरू छनौट भएको थियो ।
गत असार ९ गते सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौंमा आयोजित अन्तिम प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १० कवितालाई समान पुरस्कार, प्रमाणपत्र र नगद रू. ४० हजार प्रदान गरिएको थियो ।
सामुयल प्रतिभावान विद्यार्थी हुन् । उनले कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान दिवस २०८१ को अवसरमा आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगितालगायत विभिन्न प्रतियोगितामा जित्दै आएका छन् ।


