यो वर्ष वर्षायाममा सरदरभन्दा बढी पानी पर्ने र गर्मी पनि उच्च हुने प्रक्षेपणस“गै भएको पनि त्यस्तै नै छ । यस्तो मौसममा डेंगु सङ्क्रमण पनि थप बढ्न सक्ने भएकोले समयमै सचेत बन्न स्वास्थ्यकर्मीहरुको जोडबल छ । यस्तो जोडबलमा शिरोधार्य गर्नु सबैको दायित्व हो । जल तथा मौसम विज्ञान विभागले यसपटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेसँगै डेंगुको जोखिम र सङ्क्रमण कार्तिक सम्म नै रहने अनुमान इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
त्यसैअनुसार पूर्व तयारी र सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ । सन् २०२४ मा डेङ्गु सङ्क्रमण देशभरी फैलिँदा १५ जनाको ज्यान गएको थियो भने हजारौं सङ्क्रमित बनेका थिए । अहिले पनि डेंगुको सङ्क्रमण बढ्दो क्रममा रहेको समाचार बाहिरिरहेका छन् । डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने र यसले एकैदिन धेरैलाई भ्याउन सक्ने जनाइएको छ । ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिराहरु देखिने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, पेट दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने भयो भने सोंचे हुन्छ–डेंगी सङ्क्रमण भयो । सङ्क्रमणबाट बच्न लामखुट्टेको टोकाइ छल्नु नै सबैभन्दा उत्तम उपाय भएको चिकित्सक सुझाउँछन् । अहिले पनि हामी यस्तो समस्या समाधानका लागि जुन खालको समाधान नीति आउनुपर्दथ्यो त्यसमा भने चुकेकै हो । प्रत्येक वर्ष समस्या आउँछ, बिर्सिन्छौं, सङ्क्रमितको रेकर्ड राख्ने, जनचेतनासँगै प्रचारप्रसार गर्ने र आफ्नो दायित्व पूरा सम्झिने प्रवृत्ति कायमै छ । होइन भने हरेक वर्ष यस्ता समस्या कम हुनु पर्नेमा किन बढ्दैछ ?
समस्याले भयावह रुप धारण नगरुन्जेलसम्म चुप बसिदिने र जब नियन्त्रणबाहिर जान्छ बल्ल जुर्मुराउने प्रवृत्ति हामी सबैमा छ । समस्याको चुरो यही नै हो । यो सरकारी रोग बेलैमा हटाउनु आवश्यक छ । त्यसैले प्रचारप्रसारमा अहिलेदेखि नै तीब्रता दिँदै डेंगु फैलाउने लामखुट्टे निमिट्यान्न पार्न सरकारी निकाय चुक्नु हुँदैन । त्यसैले डेंगु सङ्क्रमण फैलिन नदिन अर्थात समस्या छिमोल्न आजैदेखि तयारी थालौं । लामखुट्टे खोज र नष्ट गर अभियान यसअघि चाँडै शुरु हुन्थ्यो तर यसपटक यो अभियानले छेऊ टुप्पो लागेको छैन । जम्मा भएका पानी बेलैमा सबैले फालौं । चिकित्सकहरुले लामखुट्टेको टोइकाबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धुप बाल्ने, मलम लगाउन सुझाएका छन् । लामखुट्टेले फूल पार्न सक्ने सम्भावित, घर, विद्यालय, कार्यालय वरिपरी पानी जम्ने सबै ठाउँ सफा, गर्ने, पानी राख्ने भाँडाहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फूल नष्ट गर्न चिकित्सकको सुझाव छ ।